कैलाली–५ मा काँग्रेसका उम्मेदवार नरनारायण शाह : राजनीति, खेलकुद र समाजसेवामा स्थापित युवा नेतृत्व
धनगढीः नेपाली काँग्रेसबाट कैलाली निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार नर नारायण शाह (मनु) राजनीति, खेलकुद र समाजसेवाको त्रिवेणीका रूपमा परिचित युवा नेता हुन्। लामो समयदेखि सामाजिक रुपान्तरण र संगठन निर्माणमा सक्रिय शाह बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छन्।
धनगढी उपमहानगरपालिका–२ मा जन्मिएका शाह नेपाली, अङ्ग्रेजी, थारु र हिन्दी भाषामा दख्खल राख्ने बहुभाषिक नेता हुन्। उनी स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका विभिन्न सामाजिक तथा खेलकुद गतिविधिमा निरन्तर संलग्न रहँदै आएका छन्।
शाहले प्रि–प्राइमरीदेखि माध्यमिक तहसम्मको शिक्षा भारतको लखनउस्थित काल्विन तालुकेदार्स कलेजबाट प्राप्त गरेका हुन्। इन्टरमिडियट तह उनले कैलाली बहुमुखी क्याम्पस, धनगढी तथा काठमाडौँको पिपुल्स क्याम्पसबाट पूरा गरे भने स्नातक तह लखनउ विश्वविद्यालयबाट अध्ययन गरेका छन्।
राजनीतिक यात्रामा नेपाल विद्यार्थी संघबाट उदाएका शाह नेपाली काँग्रेसको जिल्ला नेतृत्वसम्म पुगेका अनुभवी नेता हुन्। उनी नेपाली काँग्रेस कैलालीका पूर्व जिल्ला सहसचिव तथा जिल्ला सभापति रहिसकेका छन् भने नेपाल तरुण दल कैलालीको जिल्ला अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
खेलकुद क्षेत्रमा पनि शाहको योगदान उल्लेखनीय छ। उनी टेबल टेनिस तथा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी हुन्। साथै नेपाल सितोरियो कराँते महासंघ कैलालीका पूर्व अध्यक्ष, जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्यका रूपमा उनले जिल्लाको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्।
समाजसेवामा सक्रिय शाह धनगढी जेसिजका पूर्व अध्यक्ष, गैरसरकारी संस्था रुडुक कैलालीका पूर्व अध्यक्ष रहिसकेका छन्। उनी नेपाल–भारत मैत्री संघ, नेपाल रेडक्रस सोसाइटी, एमनेष्टी इन्टरनेशनललगायत विभिन्न सामाजिक संस्थामा आबद्ध छन्। साथै कैलाली (हाल सुदूरपश्चिम) महोत्सव तथा टीकापुर महोत्सवको संस्थापक मुख्य व्यवस्थापकको रूपमा पनि उनले योगदान पुर्याएका छन्।
व्यवसायिक क्षेत्रमा ओम प्यालेस, धनगढी सञ्चालन गर्दै आएका शाह सामुदायिक प्रहरी सेवा केन्द्र, युवा खेलकुद क्लब तथा सहकारी अभियानमा समेत सक्रिय छन्।
कैलाली–५ बाट उम्मेदवार बनेका शाहले विकास, रोजगारी सिर्जना, खेलकुद प्रवर्द्धन, गुणस्तरीय शिक्षा र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। “राजनीति सेवा हो, शक्ति होइन” भन्ने मान्यताका साथ जनतासँग नजिक रहेर इमानदार नेतृत्व प्रदान गर्ने प्रतिबद्धता उनको रहेको छ।