कैलाली-५ मा एमालेकाे चुनावी कमान्डर बने नारदमुनी राना
धनगढीः नेकपा एमालेले कैलाली-५ मा पूर्व पाेलिटब्युराे सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानालाई चुनावी कमान्डर बनाएकाे छ । शुक्रबार बसेकाे क्षेत्र नम्बर ५ काे क्षेत्रीय समन्वय कमिटिकाे बैठकले रानाकाे संयाेजकत्वमा चुनावी तयारीका लागि १००१ सदस्यीय मूल परिचालन समिति गठन गरेको हाे ।
समितिकाे उपसंयाेजक पार्टीका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दलाई बनाइएको छ । यस्तै, रानाकै संयाेजकत्वमा २५ सदस्यीय मूल निर्वाचन परिचालन समितिकाे सचिवालय पनि गठन गरिएकाे छ ।
२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले कैलाली-५ मा जिल्ला अध्यक्ष यज्ञराज ढुंगानालाई उम्मेदवार बनाएकाे छ ।
सचिवालयमा कैलाली-५ बाट प्रतिनिधित्व गर्ने विभिन्न तहका नेताहरूलाई सदस्य बनाइएकाे छ । ढुंगानाकाे चुनावी कमान्डर बनेका राना २०७४ सालमा कैलाली-५ मा कांग्रेस नेतृ आरजु राणालाई पराजित गरेका थिए भने २०७९ मा कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए ।
राना यसपटक पनि उम्मेदवारका आकांक्षी थिए तर पार्टीले भने जिल्ला अध्यक्ष ढुंगानालाई टिकट दिएपछि उनी चुनावी कमान्डर बनेर पार्टीकाे उम्मेदवार जिताउन सक्रिय भएका छन् ।