सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन-जी आन्दोलनः कैलालीसहित सुदूरपश्चिम जल्यो, अर्बौंका भौतिक संरचना ध्वस्त

२०८२ भदौ २५, ०५:३९ जयन्त सिंह भाट

धनगढीः सुदूरपश्चिममा मंगलबार भएको  जेन-जी पुस्ताको आन्दोलनले कैलाली सहित प्रदेशभर व्यापक क्षती भएको छ। आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले अर्बौं रुपैयाँ बराबरका सरकारी संरचना ध्वस्त पारिदिएका छन्।

मङ्गलवार बिहान आन्दोलन संयमित भए पनि दिउँसो देखि उग्र बनेको थियो। बिहान शान्तिपूर्वक नाराबाजी गरेका जेनजी पुस्ताका प्रदर्शनकारहिरुले नाराबाजी पछि भने तोडफोडमा उत्रिएका थिए। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मात्रै दर्जनौं सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालय, प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, सीटीईभीटी प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात कार्यालय, जिल्ला डिभिजन वन कार्यालय लगायतका भवनमा आक्रमण गरि आगजनी र तोडफोड गरेका छन्।

सरकारी गाडीहरू पनि जलाइयो

प्रदर्शनका क्रममा सरकारी कार्यालयहरू मात्र होइन, कार्यालयमा रहेका दर्जनौं सरकारी सवारी साधनहरूमा पनि आगजनी गरिएको छ। तीमध्ये धेरै गाडी पूर्णरूपमा जलेर नष्ट भएका छन्। धनगढीकै टेम्पल रिसोर्टमा पार्किङ गरिएका आधा दर्जन सरकारी गाडीमा पनि आगजनी गरिएको छ। प्रदर्शनकारीहरूले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर त्यहाँका मोटरसाइकल, फर्निचर लगायतका सामान जलाएका थिए ।

स्थानीय तहका संरचनामा पनि क्षति

कैलालीका स्थानीय तहका भवनहरु पनि जलाईएको छ। गेदावरी नगरपालिका, गौरीगंगा, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिकामा समेत आगजनी गरिएको छ। स्थानीय स्तरका महत्वपूर्ण कागजात, सेवा प्रवाहका उपकरण र सामग्रीहरू जलेर नष्ट भएका छन्। घोडाघोडी नगरपालिकाको कार्यालय पूर्ण रूपमा तोडफोड गर्दै आगजनी गरेका छन। त्यसको साथै घोडाघोडीका वडा नम्बर १, २, ३ र ४ वडा कार्यालयमा आगजनी गरेका छन उनीहरुले नगर प्रमुख बस्ने निवास र प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा तोडफोड गर्दे आगजनी गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ र १३ को कार्यालयमा पनि तोडफोड गरेका छन।

पार्टी कार्यालय र नेताका निजी घरहरु जलाईए

पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको धनगढी स्थित निवासबाट प्रदर्शनकारीहरुले आगो लगाउन सुरु गरेका थिए। त्यसपछि  सुदूरपश्चिमका प्रमुख दलका नेताहरुका घर छानी छानी जलाईएका छन्। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, निवर्तमान गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, गोदावरीका मेयर वीरेन्द्र भट्ट, पूर्व मेयर हरि सिंह साउँद, गोदावरीको वडा नम्बर २ का वडा सदस्य देव राज भट्ट, नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकाया लगायतका घरमा आगजनी र तोडफोड गरेका छन्।  यस्तै कैलालीमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका पाटीकार्यालयहरुमा पनि आगजनी र तोडफोड गरिएको छ।  

प्रदेश भरी तोडफोड र आगजनी

जेनजी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले कञ्चनपुरमा विभिन्न सरकारी कार्यालयहरु तेडफोड गरेका छन्।  डडेल्धुरामा पनि जेन जीले दिनभरि प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउ गरेका त्यहाँका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले एमाले पार्टी कार्यालयमा पनि तोडफोड गरेका थिए।

उता दार्चुलामा पनि पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ। बैतडीमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका थिए। जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै युवा विद्यार्थीहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले र सुरक्षाको लागि थप उपायहरू अवलम्बन गर्नुपर्ने बताएका छन्। “सबै सकिएको छ, केही बाकी छैन। अब बन्ने अन्तरिम सरकारले जे निर्देशन दिन्छ, त्यहीँ गरिन्छ।” उनले भने। स्थिति नियन्त्रण बाहिर गएपछि मंगलबार राति १० बजेदेखि नेपाली सेना सुरक्षार्थ खटिएको छ भने स्थिति सामान्य नहुञ्जेलसम्म देशभर निषेधाज्ञा जारी गरिएको छ। आन्दोलनमा भएको क्षतिको यकिन विवरण संकलन भईरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेनद्र बहादुर चन्दले जानकारी दिएका छन। 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस