सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडादसैंले एकताको भावना थप बलियो बनाउने सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको विश्वास

२०८३ कार्तिक ४, १०:४६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री भट्टले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र सुदूरपश्चिमवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने बडादशैँले समाजमा सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

मुख्यमन्त्री भट्टले मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम निर्माण गर्ने साझा सङ्कल्पलाई दशैँले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
उनले चाडपर्वले आपसी प्रेम, भाइचारा, सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट भएर अघि बढ्न प्रेरित गरोस् भन्ने कामना गरेका छन्।
दुर्गाभवानीको आशीर्वादले सबैमा सुख, शान्ति र सकारात्मक ऊर्जा प्रदान गरोस् तथा हरेक नेपालीको घरआँगनमा हर्षोल्लास र समृद्धिको उज्यालो छाओस् भन्दै मुख्यमन्त्री भट्टले बडादशैँको शुभकामना दिएका छन्।

कमेन्ट लोड गर्नुस