गाउँ अझै पनि चहलपहलको प्रतीक्षामा
सुदर्शन भट्टः कुनै समय गाउँको बिहान हलो–जुवा बोकेर खेततिर लाग्ने किसान, ओखलमा धान कुट्दै घर सजाउने महिला, आँगनमा दौडिने बालबालिका र चौतारामा भलाकुसारी गर्ने वृद्ध–वृद्धाको चहलपहलले सुरु हुन्थ्यो।
बिहान सबेरै खर्कमा गएका मानिस भैँसी दुहुन्थे, दूध घरमै आइपुग्थ्यो र घाम उक्लनु अघि नै आधा काम सकिन्थ्यो। त्यो समयमा खेतबारीमा “हो.. हो.. हे.. हे..” भन्ने आवाज घन्किन्थ्यो। एचोपैचो र पर्मको परम्पराले गाउँलाई एक परिवारजस्तै बनाउँथ्यो। बिरामी परे गाउँलेहरू मिलेर अस्पतालसम्म लैजान्थे, दुःख–सुखमा सबै उपस्थित हुन्थे।
दशैंमा बाबियोको पिङ हाल्ने, तिहारमा देउसी–भैलो खेल्ने, गौरा र भुवा जस्ता पर्वमा गाउँभरी चहलपहल हुने परम्परा वर्षौँसम्म गाउँको पहिचान बनेको थियो। तर अहिले त्यो गाउँमा न त बिहानको हलोको आवाज सुनिन्छ, न त ओखलमा धान कुट्ने लय। काम गर्ने उमेरका मानिसहरू वैदेशिक रोजगारीतिर पलायन भएपछि गाउँ रित्तिएको छ। खेतबारी बाझिएका छन्, पधेरो सुनसान छ। हिजो नपुग्ने घरहरू आज खाली छन्।
वृद्ध आमाबुबाको प्रतीक्षा
विदेशिएका छोराछोरी फर्कने आसमा वृद्ध आमाबुबा अझै पनि दोबाटोमा बाटो हेरेर बस्छन्।
गाडीको आवाज सुन्नासाथ “मेरो छोराछोरी आयो कि?” भनेर आत्तिनु उनीहरूको दिनचर्या बनेको छ। तर आश अझै अपूरो छ। सुविधा छ, उपभोगकर्ता छैनन्। गाउँ अहिले भौतिक सुविधामा सम्पन्न देखिन्छ। लगभग सबै गाउँमा मोटर बाटो पुगेको छ, तर त्यहाँ गाडी चढ्ने मानिस छैनन्। आधुनिक स्वास्थ्य चौकी बनेको छ, तर सेवा लिने बिरामी छैनन्। व्यवस्थित विद्यालय छ, तर पढ्ने विद्यार्थी छैनन्। खानेपानी र सिँचाइको राम्रो व्यवस्था छ, तर उपभोग गर्ने हात छैनन्।
अझै आस जीवित छ
यद्यपि गाउँलेहरूको मनमा आश मरेको छैन।बाँझो खेतमा पुनः अन्न फल्ने, चाडपर्वमा फेरि गीत–संगीत गुञ्जिने, पर्म–एचोपैचोको परम्परा जिउने,पलायन भएका सन्तान फर्कने र गाउँ पुरानै जीवन्त बन्ने—यही आसमा गाउँ अझै प्रतीक्षारत छ। गाउँसँग अहिले सुविधा छ, तर मानिस छैनन्। गाउँसँग संरचना छ, तर जीवन छैन। र अझै पनि—गाउँ आफ्ना सन्तानलाई फर्केर आउने दिनको प्रतीक्षामा छ।