सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

२०८१ चैत्र ५, ०९:५३ रासस

काठमाडौँः चलचित्रले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई त्यस्ता स्थानमा पुग्न प्रेरितसमेत गर्छ। हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा सांस्कृतिक विविधताले भरिएको नेपाललाई चलचित्रमार्फत विश्वभर चिनाउने काम भइरहेको छ।

यसले प्रवासमा रहेका नेपालीलाई मात्र नभई स्वदेशीलाई पनि आन्तरिक पर्यटनमा रुचि बढाउन प्रेरित गर्ने गरेको चलचित्र निर्देशक ऋषिराज आचार्यले बताए। उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘द्रौपदी’ डोल्पा जिल्लाको मनोरम दृश्यमा छायाङ्कन गरिएको छ। झन्डै ४६ दिन छायाङ्कन गर्दा उनले स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि चलचित्रमा कैद गरेका छन्। त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे–फोक्सुन्डोलगायत मनोरम दृश्यले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने निर्देशक आचार्यले बताए।

’मलगायत धेरै चलचित्रकर्मी मनाङ, मुस्ताङ, डोल्पासहितका अन्य स्थानमा पुग्नुको एउटा कारण चलचित्र वा साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) नै हो। हामी त्यहाँ पुग्दा पनि चलचित्रमा हेरेर घुम्न आएको भन्ने सुन्नेका थियौँ, मुस्ताङमा एउटा गल्लीको नाम नेपाली चलचित्र जेरीबाट राखिएको छ। त्यसकारण चलचित्रले कला, संस्कृतिसँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउँछ’, आचार्यले भने।

यही चैत ८ देखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्रको विषयमा जानकारी दिन सोमबार बेलुकी काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय चलचित्र जाँच समितिको सदस्यसमेत रहेका निर्देशक आचार्यले ‘द्रौपदी’ नामसँग चलचित्रको विषय जोडिएको बताए।

’डोल्पाको संस्कृति र चलचित्रको कथा जोडिएको छ, त्यसकारण पनि हामीले छायाङ्कन गर्न डोल्पा नै रोजेका हौँ। यसमा नेपाली मौलिक विषय, आँखालाई शीतलता दिने सुन्दर दृश्य र सोचनीय विषयलाई उठाएको छु’, उनले भने। नेपाल आइडलको दोस्रो शृङ्खलाका विजेता गायक रवि ओड यसै चलचित्रमार्फत अभिनेता बनेका छन्। अभिनयमा रुचि भएकाले नै तयारी गरेर चलचित्रमा काम गरेको गायक ओडले बताए।

कमेन्ट लोड गर्नुस