सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिलासैनी टोल विकास संस्थाको साधारण सभा सम्पन्न, सामुदायिक विकास योगदानकर्ता सम्मानित

२०८३ असोज २३, ०५:२३ लक्ष्मण ढुङ्गाल

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित डिलासैनी टोल विकास संस्थाको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

टोलको विकास, सामाजिक सद्भाव र सामुदायिक हितमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै संस्थाले साधारण सभा सम्पन्न गरेको हो।

शुक्रबार संस्थाका अध्यक्ष अक्कलबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐर प्रमुख अतिथि रहेका थिए। श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण राना विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा टोलको विकास तथा सार्वजनिक पूर्वाधार निर्माणमा योगदान पुर्‍याउने समाजसेवी गगनबहादुर विष्टलाई विशेष सम्मान गरिएको थियो। उनले बाटोको निकासका लागि करिब एक कठ्ठा व्यक्तिगत जग्गा निःशुल्क उपलब्ध गराएका थिए। सार्वजनिक बाटोको सहज पहुँचका लागि जग्गादान गरेका विष्टको योगदानको प्रशंसा गर्दै संस्थाले सम्मान गरेको हो।

त्यसैगरी, टोलको विकासका लागि समन्वय र सहकार्य गर्दै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै वडा अध्यक्ष राजबहादुर ऐरलाई समेत सम्मान गरिएको थियो। यस्तै,टोलको उन्नति र विकासमा अमूल्य योगदान पुर्‍याएका स्वर्गीय पूर्वअध्यक्ष शंकर ढुंगालको परिवारलाई पनि स्मरण तथा सम्मान गरिएको संस्थाले जनाएको छ।

टोल विकासका गतिविधिमा सक्रिय योगदान पुर्‍याउँदै आएका परमानन्द भट्टलाई समेत कार्यक्रममा विशेष सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले टोलको समग्र विकासका लागि स्थानीयवासीबीच एकता, सहकार्य र आपसी सद्भाव आवश्यक रहेको बताएका थिए। उनीहरूले सामुदायिक विकासमा टोल विकास संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै डिलासैनी टोल विकास संस्थाले समाज सुधार तथा स्थानीयवासीलाई एकताबद्ध बनाउन खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।

स्थानीयस्तरमा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानले अरूलाई पनि समाजसेवामा प्रेरित गर्ने अनुमान गरिएको छ।
संस्थाको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रमले टोलको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको कदर गर्नुका साथै सामुदायिक एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस