धनगढीमा सखिया नाच प्रदर्शन हुने
धनगढी : थारू समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहँदै आएको सखिया नाचको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि यस वर्ष विशेष सखिया नाच प्रदर्शन आयोजना गरिने भएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराएका हुन् ।
असोज २१ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म धनगढी उपमहानगरपालिकाको आँगनमा हुनेछ ।
कृष्णलीला तथा महाभारतका कथावस्तुमा आधारित गीतमा युवतीहरूले सामूहिक रूपमा गायन गर्ने र युवाहरूले मादलको तालमा साथ दिने सखिया नाच थारू समुदायको मौलिक पहिचान, धार्मिक आस्था, कला, भाषा, परम्परा र सामाजिक एकताको महत्त्वपूर्ण प्रतीक हो । परम्परागत रूपमा अष्टमीदेखि सुरु भई दशैंभरि हुँदै दीपावलीसम्म करिब एक महिनासम्म गाउँघरमा सखिया नाच नाच्ने चलन रहँदै आएको छ ।
तर पछिल्लो समय शिक्षा, रोजगारी, वैदेशिक पलायन तथा समय परिवर्तनसँगै यो परम्परा क्रमशः छोटिँदै र सीमित हुँदै गएको अवस्था छ । यस्तो अवस्थामा मौलिक संस्कृति नयाँ पुस्तासम्म पुर्याउन, युवायुवतीलाई आफ्नो संस्कृति र परम्परासँग जोड्न तथा सखिया नाचको संरक्षण र पुस्तान्तरणका लागि सामाजिक रूपमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।
यसअघि सामाजिक सञ्जालमार्फत तीन दिनसम्म कार्यक्रम गर्ने जानकारी सार्वजनिक गरिएको थियो । तर हाल गाउँघरमा धान काट्ने तथा अन्य कृषि कार्यको व्यस्तता रहेको र यसले कलाकार तथा समुदायको सहभागितामा असर पार्न सक्ने भएकाले कार्यक्रमलाई एक दिनमा सीमित गर्ने निर्णय गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रममा थारू समुदायका कलाकार, युवायुवती, संस्कृतिकर्मी तथा संस्कृति संरक्षणमा रुचि राख्ने विभिन्न सरोकारवालाको सहभागिता रहने छ । आयोजकले यस कार्यक्रमलाई केवल नृत्य प्रदर्शनका रूपमा मात्र नभई थारू समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, कला र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउने अभियानका रूपमा लिएको बताएका छन् ।