ह्यारिसको प्रचार खर्च ८८ करोड डलर, ट्रम्पको ३५ करोड डलर
समाचार एजेन्सीः अमेरिकाका अघिल्ला राष्ट्रपतीय निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि राष्ट्रपति पदका उम्मेदवारले पैसाको खोलो बगाएका छन्। चुनावी अभियानका क्रममा खर्च गर्नेमा डेमोक्य्राटिक पार्टी र उसका उम्मेदवार धेरै अगाडि देखिएका छन्।
निर्वाचन अभियानमा खर्च गर्ने मामिलामा डेमोक्य्राटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा दोब्बर बढीले अगाडि रहिन्। उनले आफ्नो चुनावी अभियानका क्रममा ८८ करोड १० लाख ५८ हजार डलर खर्च गरेकी थिइन्। जबकि उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले केवल ३५ करोड ५७ लाख ३४ हजार डलर मात्रै खर्च गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ।
फेडरल इलेक्सन कमिसन अफ अमेरिकाका अनुसार यो राष्ट्रपतीय निर्वाचनमा विभिन्न उम्मेदवारले कुल दुई अर्ब ४२ करोड ४५ लाख ७५ हजार डलर खर्च गरे। डेमोक्य्राटिक पार्टीले सबैभन्दा धेरै एक अर्ब ७८ करोड ६७ लाखभन्दा बढी खर्च गरेको छ। यो निर्वाचनमा बिचमै राष्ट्रपतीय निर्वाचनको दौड परित्याग गरेका वर्तमान राष्ट्रपति जो बाइडेनले पनि ८९ करोड सात लाख ७९ हजार डलर खर्चिए।
लोकप्रियताको ग्राफ घट्न थालेपछि ट्रम्पको आगमन रोक्न उनले बिचैमा उम्मेदारीको दौड परित्याग गरेर कमला ह्यारिसलाई समर्थन गरेका थिए। चन्दा प्राप्त गर्नेमा पनि डेमोक्य्राटिक पार्टीकै अग्रता रह्यो। डेमोक्य्राटिक पार्टीले दुई अर्ब दुई करोड २२ लाख ७१ हजार डलरभन्दा बढी चन्दा प्राप्त गरेको थियो। चन्दा प्राप्त गर्नमा पनि रिपब्लिकन पार्टी निकै पछाडि देखियो। उसले डेमोक्य्राटिक पार्टीको भन्दा तेब्बरभन्दा पनि कम मात्रै चन्दा प्राप्त गरेको थियो।
यो पार्टीले केवल ६३ करोड ३८ लाख ३६ हजार डलर चन्दा प्राप्त गरेको थियो। चुनावी खर्च पनि डेमोक्य्राटिक पार्टीलेभन्दा निकै कम, केवल ५६ करोड सात लाख ९२ हजार डलर मात्रै गरेको थियो। कमला ह्यारिसलाई कुल ९९ करोड ७९ लाख ५० हजार डलर चन्दा प्राप्त भएको थियो भने ट्रम्पले ३९ करोड १९ लाख ४९ हजार डलर हाराहारी मात्रै प्राप्त गरेका थिए। महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विश्वकै ध्यान केन्द्रित छ।
मैदानमा उत्रिएका डेमोक्य्राटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कडा प्रतिस्पर्धामा छन्। आफ्ना राष्ट्रपति चुन्न ‘अर्ली भोटिङ’ नगरेका मतदाताले ५ नोभेम्बरका दिन मतदान गरे। ‘अर्ली भोटिङ’ मार्फत् करिब १० करोडले मतदान गरिसकेका छन्।
मतदाता सूचीमा १६ करोड ६४ लाख मतदाता दर्ता छन्, जसमध्ये ५० प्रतिशतभन्दा धेरै मतदाताले ‘अर्ली भोटिङ’ गरे भने थप १५ देखि २० प्रतिशतले ‘इलेक्सन डे’का दिन मतदान गर्ने अपेक्षा गरिएको छ। यो मतदानमार्फत ५० राज्यबाट कुल ५३८ इलेक्टोरल कलेज (निर्वाचक मण्डल) निर्वाचिन हुनेछन् र तिनै मतबाट राष्ट्रपति चयन गरिनेछन्।
कुनै पनि उम्मेदवारले विजेता हुन कम्तीमा २७० इलेक्टोरल कलेज प्राप्त गर्नुपर्ने हुन्छ। राज्यमा जुन पार्टीका उम्मेदवारले जित हासिल गर्छन्, सबै इलेक्टोरल कलेज सोही पार्टीको हुन्छ। इलेक्टरहरूले अन्य पार्टीका उम्मेदवारलाई मत दिए उनीहरूको पद मात्रै जाने होइन, कतिपय राज्यमा त्यो फौजदारी अपराधसमेत हुने कानुनी प्रावधान छ।