सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्नातक तहमा पढाइ नसक्दै अध्ययन छोड्ने विद्यार्थी ह्वात्तै बढे

२०८१ मंसिर १९, १०:०१ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा स्नातक तहको पढाइ पूरा नगर्दै अध्ययन छोड्ने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दै गएको पाइएको छ।

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको तथ्याङ्कले विद्यार्थीले बिचमै पढाइ छोड्ने दर भयावह भन्दै गएको छ। कैलाली बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्ग हुँदा २०७३ मा स्नातक तहको विभिन्न संकायमा दुई हजार ६५ जना विद्यार्थी भर्ना भएकामा तीमध्ये २०७७ मा चौथो वर्षमा पुग्दा ६९३ जनाले पढाइ छोडेका छन्। यो कुल भर्नाको ३३ दशमलव ५६ प्रतिशत हो।

यस्तै, २०७४ मा कैलाली क्याम्पसमा स्नातक तह प्रथम वर्षमा दुई हजार ३१ जना भर्ना भएकामा ६४४ जनाले बिचमै पढाइ छोडेका छन्। २०७५ को व्याँचमा स्नातक तहमा एक हजार ५२० जना भर्ना भएकामा ४९३ जनाले अध्ययन पूरा नगरेको कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर लोकबहादुर बिष्टले बताए। उनले देशभरि नै स्नातक तह पूरा नगर्दै विद्यार्थीले पढाइ छोड्ने दर बढेको बताए।

‘अहिले स्नातक तहमा पढ्ने मध्ये ४० देखि ५० प्रतिशत विद्यार्थी ड्रपआउट हुने समस्या छ। यो समस्या कैलाली क्याम्पसमा मात्रै नभएर देशैभरका क्याम्पसमा छ,’ उनले भने, ‘जापान, क्यानडा र अस्ट्रेलिया जाने भनेर बिचमै पढाइ छोडेर विद्यार्थी विदेशिन थालेका छन्।’
सेमेष्टर प्रणालीमा पनि पहिरो
स्तातक तहमा सेमेष्ट प्रणाली लागु भएपछि पनि विद्यार्थी ड्रपआउट हुने दर झन बढेको छ। २०७८ को पहिलो व्याँचमा कैलाली क्याम्पसमा स्नातक तहमा एक हजार ८३७ विद्यार्थी भर्ना भएकामा ९२५ जनाले बिचमै अध्ययन छोडेका छन्। यस्तै २०७९ को व्याँचमा एक हजार ५४३ जना भर्ना भएकामा ७२६ ले अध्ययन नसकिँदै पढाइ छोडेका हुन्। कलेज छोड्ने मध्ये अधिकांश विदेश अध्ययनका लागि जाने गरेको सहायक क्याम्पस प्रमुख बिष्टले बताए।

उनले भने, ‘कैलाली बहुमुखी क्याम्पसको स्नातक तहमा २०७८ को व्याँचमा ५० दशमलव ३६ प्रतिशत विद्यार्थी ड्रपआउट भएका छन् भने २०७९ को व्याँचमा ४७ प्रतिशतले बिचमै अध्ययन छोडेका छन्। राज्यले रोजगारमुखी शिक्षा दिन नसक्दा रोजगारीकै लागि विदेश पलायन हुने दर बढेको छ।’
कुन संकायमा ड्रपआउट दर बढी?
कैलाली बहुमुखी क्याम्पसमा ३०७८ देखि स्नातकमा सेमेष्टर प्रणाली सुरू भएको हो। पहिलो व्याँचमा यो वर्ष मानविकी संकायमा ६६२ जना भर्ना भएका थिए। उनीहरू मध्ये ३९६ जनाले अध्ययन बिचमै छोडेका छन्। पहिलो व्याँचमा ५९ दशमलव ८२ प्रतिशत विद्यार्थीले बिचमै पढाइ छोडेका छन्। २०७८ को व्याँचमा शिक्षा संकायमा ३३४ जना भर्ना भएकामा १५५ जना ड्रपआउट भएका छन्। यस्तै व्यवस्थापन संकायमा ६२५ जना भर्ना भएकामा ३२४ जनाले बिचमै अध्ययन छोडेको तथ्याङ्क छ।

शिक्षा संकायमा ४६ दशमलव ४१ प्रतिशत तथा व्यवस्थापमा ५२ प्रतिशत ड्रपआउट भएका छन्। २०७९ को व्याचमा व्यवस्थापन संकायमा ५०२ जना भर्ना भएकामा २३५ जनाले पढाइ बिचमै छोडेका छन्। यो वर्ष मानविकीमा भने ५४६ भर्ना भएकामा २९२ ड्रपआउट भएका छन्।यस्तै, शिक्षा संकायमा २९५ जना भर्ना भएकामा १११ जनाले बिचमै पढाइ छोडेको सहायक क्याम्पस प्रमुख बिष्टले बताए। उनले भने अन्य संकायको तुलनमा मानविकी, व्यवस्थापन र शिक्षा संकायका ड्रपआउट विद्यार्थीको संख्या बढी छ।

‘तीन संकायमा करिब ५० प्रतिशतले बिचमै अध्ययन छोड्ने गरेका छन्। पढाइ छोड्नेहरु मध्ये धेरैजसोले विदेश जाने बताउने र अध्ययन निरन्तरताको पत्र क्याम्पसबाट लग्ने गरेका छन्,’ बिष्टले भने। कैलाली बहुमुखी क्याम्पसमा मात्रै हरेक दिन विदेश अध्ययन गर्न जाने करिब दुई दर्जन विद्यार्थीले अध्ययन निरन्तरताको सिफारिस लग्ने गरेका छन्। केही वर्षयता अध्ययनका लागि विदेश जाने लहर बढेकाले सुदूरपश्चिमका क्याम्पसहरूमा ड्रपआउट हुने दर ह्वात्तै बढेको दाबी गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस