महेन्द्र राजमार्गको कैलाली खण्ड मर्मतमा ठेकेदारको लापरबाही
धनगढीः सडक डिभिजन, कार्यालय महेन्द्रनगरले पटके मर्मत अन्तरगर्त वर्षेनि महेन्द्र राजमार्ग मर्मत–सम्भारको काम गर्दै आएको छ।
चालु आर्थिक वर्षमा समेत कैलाली खण्डको ७९ किलोमिटर क्षेत्रमा मर्मतका लागि ठेक्का सम्झौता गरिएको छ। तर, निर्माण कम्पनीले सडक मर्मतको काम पुरा गर्न नपाउँदै भत्किएको छ। जिल्लाको गोदावरी नगर क्षेत्रमा मर्मत गरिएको महेन्द्र राजमार्ग भत्किन पुगेको छ। सडक डिभिजन, कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले चिसो मौसममा सडक मर्मत गरिएकाले भत्किएको बताए।
उनले अत्तरिया क्षेत्रमा भत्किएको सडक निर्माण कम्पनीले पुनः मर्मत गर्ने बताए। उनले भने, ‘अत्तरिया क्षेत्रमा चिसोको समयमा मर्मत गरिएको रहेछ। हामीलाई पनि जानकारी आएको छ।’ महेन्द्र राजमार्गको कैलाली खण्ड मर्मतमा निर्माण कम्पनीले लापरबाही गरेको पाइएको छ। अत्तरिया क्षेत्रमा मर्मतका लागि गरिएको कालोपत्र उप्किएको छ। मर्मत गरिएको ठाउँमा नै खाल्डा परेका छन्।
अत्तरियादेखि पूर्वी क्षेत्रको महेन्द्र राजमार्गमा मर्मत गरिएको ठाउँको कालोपत्र भत्किएको छ। गौरीगंगा नगरपालिका–६ वनबेहडा क्षेत्रमासमेत खाल्डा छन्। उक्त क्षेत्रमा निर्माण कम्पनीले सडक मर्मत गरेको भएपनि खाल्डा पुरेको छैन। जोशीले भने, ‘सडक मर्मतका लागि ठेक्का गरेका हौ। ग्राभेल बगाएको ठाउँमा फेरि काम गर्छाै।’ महेन्द्र राजमार्गको कैलाली खण्ड अन्तर्गत अत्तरिया पूर्वी रोड, जमुनावारी, वनबेहडा क्षेत्र, झिल, सुखड, बौनिया लगायत क्षेत्रमा खाल्डा परेका छन्।
प्रत्येक वर्ष सडक डिभिजन कार्यालय महेन्द्रनगरले सडक मर्मतको नाममा खर्च गर्दै आएको छ। तर, निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडकमा खाल्डा छन्। साथै सडक मर्मत गरिएको ठाउँमा सवारी सञ्चालनमा समेत समस्या हुने गरेको छ। सडकको दुबै छेउतिर बर्सातको पानीले बगाएको ग्राभेलसमेत थप गरिएको छैन।