सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा शल्यक्रिया गर्न तीन वर्षसम्म पर्खनुपर्ने बाध्यता

२०८० पुष १२, ०७:२१ नारायण अवस्थी

धनगढी: सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्न झण्डै तीन वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता छ। अस्पतालमा जनरल सर्जरी गर्न पालो पर्खनेको संख्या सबैभन्दा बढी छ।

सेतीमा जनरल सर्जरी, युरो, न्यूरो, नाक, कान र घाँटी, गाइने र दाँतको शल्यक्रिया हुने गरेको छ। जनरल सर्जरी बाहेक अन्य सर्जरी गर्ने बिरामीको पालो दुई महिनामा आउने भए पनि जनरल सर्जरी गर्न भने लामो समय पालो पर्खनु पर्ने अवस्था छ।

सेती प्रादेशिक अस्पतालमा जनरल सर्जरीका लागि नाम दर्ता गराउने बिरामीको सङ्ख्या बिहिवारसम्म ४७२ पुगेको छ। यी बिरामी मध्ये सूचीको अन्तिम बिरामीको शल्यक्रिया गराउने पालो २०८२ असोज २० गते आउनेछ। हिसाब गर्दा ४७२ औं नम्बरको बिरामीको शल्यक्रिया गराउने पालो २ वर्ष ९ महिना ८ दिनपछि आउनेछ।

सेती प्रादेशिक अस्पतालमा जनशक्ति, शय्या र उपकरणको अभावमा शल्यक्रिया गराउने बिरामीको सूची लामो रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बताए। "सेतीमा बिरामीको चाप पनि बढी छ, जनशक्ति, उपकरण र शय्याको अभाव पनि छ। त्यसैले शल्यक्रिया गर्ने पालो लामो समयपछि आउने गरेको हो," उनले भने, "जनरल सर्जरीमा सबैभन्दा लामो सूची छ अन्य सर्जरीको पालो एकदेखि दुई महिनाभित्र आउँछ।"

सेतीमा जनशक्ति अभाव

सेती प्रादेशिक अस्पतालमा एनेस्थेसियोलोजिष्ट केबल दुई जना मात्रै कार्यरत छन्। एक जना संघबाट काजमा कार्यरत छन् भने अर्का एक जना भर्खरै आएका छन्। एनेस्थेसियोलोजिस्ट नभई शल्यक्रिया गर्न सम्भव हुँदैन।

अस्पतालले विज्ञान गर्दा पनि बिरामीलाई बेहोस गर्ने चिकित्सक भर्ना गर्न सकेको छैन। बेहोस गर्ने विशेषज्ञ चिकित्सकसहित नर्सिङ स्टाफको अभावले पनि शल्यक्रिया प्रभावित हुने गरेको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कमरले बताए। "सेतीमा हाल दुई जना एनेस्थेसियोलोजिस्ट मात्रै कार्यरत छन्। शल्यक्रिया ढिलो हुनुमा जनशक्ति कम हुनु पनि हो," उनले भने, "नर्सिङ स्टाफको सङ्ख्या पनि कम भएकाले शल्यक्रिया प्रभावित हुने गरेको छ।"

उपकण, शय्या र शल्यक्रिया कक्ष अभाव

लामो समयसम्म सेतीमा दुई वटा शल्यक्रिया कक्ष मात्रै थिए। हाल शल्यक्रिया कक्ष थप गरेर चार बनाइएको छ। तर, शल्यक्रिया गर्न आवश्यक उपकरण भने अझै पर्याप्त छैनन्। सेतीमा बिरामीलाई बेहोस गर्न प्रयोग हुने मसिन जम्मा दुई वटा मात्रै छन्।

यसैगरी, हाडजोर्नीको शल्यक्रियामा प्रयोग हुने सिए आर्म मसिनको अभावमा हाडजोर्नीको शल्यक्रिया प्रभावित हुने गरेको छ। पोस्ट अपरेसन वार्डमा जम्मा ४ शय्या रहेकोमा हाल बढाएर २० शय्या बनाउन लागिएको छ। जनरल सर्जरी वार्डमा ६० शय्या राख्न लागिएको र जनशक्ति व्यवस्थापन गरेर शल्यक्रियाका लागि पर्खिनुपर्ने बिरामीको सङ्ख्या घटाउने निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कमरले बताए। "उपकरण, शय्या र जनशक्ति अभावमा शल्यक्रिया प्रभावित हुने गरेको छ," उनले भने, "जनरल सर्जरी बाहेक अन्य सर्जरी गराउने बिरामीको पालो बढीमा दुई महिना भित्र आउने गरेको छ। तर, आकस्मिक शल्यक्रिया भने तुरुन्तै हुने गरेको छ।"

प्रदेश सरकारले ओएनएम नगर्दा समस्या

सेती प्रादेशिक अस्पताल जम्मा ५० शय्याको सरकारी स्वीकृति पाएर सञ्चालनमा रहेको अस्पताल हो। अस्पताल विकास समितिबाट थप भएको ७५ सहित १२५ शय्या क्षमतामा चलाइएको अस्पताल अहिले प्रदेश सरकार मातहत प्रादेशिक अस्पताल बनाइएको छ। प्रदेश सरकारले अस्पताल आफ्नो मातहतमा ल्याए पनि २०४० सालकै स्वीकृत शय्या क्षमता र दरबन्दीमा चलाइरहेको छ।

अस्पतालमा आउने बिरामीको सङ्ख्या ४० वर्षको अन्तरमा निकै वृद्धि भए पनि प्रदेश सरकारले अहिलेको आवश्यकता अनुसार अस्पतालको क्षमता बढाउन संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्म गर्न सकेको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस