‘अपुतलाई पुत दिने गौरा–महेश्वर’
कुबेर खड्का: सुदूरपश्चिममा दशैं, तिहारभन्दा पनि धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रहि आएको छ। यहि विश्वासले यो प्रदेशभरीसप्तमीसम्म महिलाहरु गौराको व्रत बस्ने गरेको पाइन्छ।
तीन दिनसम्म व्रत बस्नु परम्परा र पहिल्यैदेखि चलिएको मौलिक संस्कृति रहेको र सप्तमीमा गौरा माताको गरिने पूजापाठको रमाइलो हेर्न गौरा घर रहेको मन्दिरमा जमघट र मेला लाग्ने गर्दछ । वैदिक विधि अनुसार गौरा माताको व्रत बसी पूजापाठ गरेमा सन्तान, सुख, दीर्घायु प्राप्त हुने जनबिश्वास रहेको छ। यो पर्वमा सौभाग्य प्राप्तिका लागि गौरा पार्वती माताको पूजन गरिन्छ।
भाद्र कृष्ण पञ्चमीबाट सुरु हुने गौरा पर्वलाई यो क्षेत्रका महिलाहरुले माङ्गलिक कामना गर्दै मनाउने गरेका छन्। यो प्रदेशको पहाडी जिल्लावासीले मनाउने प्रमुख चाड हो, गौरा। बसाइँ सरेर तराई झरेकाहरुले तराईमा पनि गौरा पर्व धुमधामसँग मनाउँदै गरेको यत्रतत्र सर्बत्र पाइन्छ। गौरा पर्वले लामो समयदेखि बिछोड भएकाबीच मिलन गराउने, आपसी भाइचाराको सम्बन्ध बढाउने, पति पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको पाइन्छ त्यसैले यो पर्व मनाउनका लागि देश विदेश गएकाहरु पनि आ–आफ्नो गाउँघर आउने गर्दछन।
पञ्चमीदेखि सुरु भएको गौरा पर्व अष्टमीको दिन झनै विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई नै मुख्य हो। यसै दिनलाई नेपालमा गौरा पर्वको रुपमा लिने गरिन्छ। गौरा पर्वलाई पञ्चमीदेखि अष्टमीसम्म चार दिन मनाउने गरिएको छ। गौरा पर्व विशेष गरेर महिलाले मनाउने पर्व हो। तर, आज भोलि पुरुषहरुको पनि उत्तिकै सहभागीता पाइन्छ। यो पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्ने गरिन्छ । गौरा पर्वमा गौरा–महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने गरेको आम जन बिश्वास रहेको छ।
पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन दलहन वस्तुको बिरुडा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ। बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ। बिरुडा भिजाएर सुरु हुने पर्वको दोस्रो अर्थात षष्ठीका दिन गेंडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ। सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्ग गरी नौ प्रकारका विरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ । आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण यी विरुवालाई नवदूर्गाको प्रतिकको रुपमा लिने गरेको उर्तसब लाई गौरा पर्ब भन्ने गरिन्छ।
व्रतालु महिलाले डालोमा राखेर फाग गीत÷गाउँदै गौरालाई नचाउने चलन छ। उनीहरुले सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याइ पूजापाठ गर्ने गर्दछन् । विधि विधानअनुसार अष्टमीका दिन गौरा सेलाएर देउडा खेल्ने चलन छ। गौरालाई महिलाहरुले गौरा–महादेवको विवाहोत्सवको रुपमा पनि मान्ने गरेको पाइन्छ। उनले गौरा सेलाएको अष्टमीको दिनदेखि समुदायमा देउडा खेल्ने चलन रहेकाले यो पर्वको सामाजिक महत्व पनि उत्तिकै रहेको छ । यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ।
महिला र पुरुषको छुट्टाछुट्टै गोलो घेरा बनाएर देउडा खेलिन्छ। देउडामा फाग, चैत, धमारी गाउने चलन रहे पनि अचेल समसामायिक विषय वस्तुमा आधारित व्यंग्यात्मक गीत गाएर रमाइलो गर्ने चलन पनि छ। युवा पुस्ताले माया प्रेममा आधारित गीत गाएर पनि देउडामा खेल्ने गर्दछन् । इतिहास हाम्रो मौलिक परिचय हो त्यसैले यस्को संरक्षण र जगेर्ना गर्ने हामी अन्तिम पुस्ताको दायित्व हो।