पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको कैलालीस्थित घरमा चोरी

धनगढीः पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको कैलालीस्थित घरमा चोरी भएको छ।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री चौधरीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको घरमा चोरी भएको हो। उनको घरबाट सुनचाँदीसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ।

चौधरीको घर विगत बैशाखदेखि बन्द रहेको थियो। त्यस अवधिमा कोही बसोबास नगरेको जनाइएको छ। चोरी कहिले भएको भन्ने यकिन नभए पनि हिजोमात्रै घरमा पुग्दा चोरी भएको पत्ता लागेको हो।

चोरले घरको ढोका फोडेर भित्र पसेर बहुमूल्य सुनचाँदीका गहना तथा नगद समेत चोरी गरेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। प्रहरीले चोरीको प्रकृति तथा चोरको पहिचान गर्न खोजी तीव्र पारेको जनाएको छ।