सुदूर नेपाललाई विश्वसँग जोड्दै

छठ पर्वका लागि सजिँदै धनगढीको मोहना घाट, २२ लाख खर्च हुने अनुमान

२०८३ कार्तिक २५, ०५:३२ लक्ष्मण ढुङ्गाल

धनगढीः कैलालीको धनगढीस्थित मोहना नदी किनार छठ पर्वका लागि सजिन थालेको छ। छठ पूजालाई लक्षित गर्दै घाट क्षेत्रमा सरसफाइ, सजावट तथा पूजास्थल व्यवस्थापनको काम तीव्र पारिएको हो। 

मोहना घाटमा पूजाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए। यसवर्ष पनि छठ पूजाका अवसरमा स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिने भएका छन्। धार्मिक पूजाआराधनासँगै झाँकी, नृत्य, भजन तथा रात्रिकालीन जागरणलगायत कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ। शनिबार साँझ डान्डिया नृत्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन् भने आइतबार विशेष कार्यक्रम आयोजना गरिने अध्यक्ष मण्डलले बताए।

छठ पर्व व्यवस्थापनका लागि यसवर्ष करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्थानीय सरकारले हरेक वर्ष आर्थिक सहयोग गर्दै आए पनि अन्य निकायबाट भने सहयोग प्राप्त हुन नसकेको समितिको गुनासो छ। आम भक्तजन तथा श्रद्धालुबाट प्राप्त सहयोगकै भरमा पर्व व्यवस्थापनको काम भइरहेको अध्यक्ष मण्डलले बताए।

छठ पर्वमा व्रतालुहरूले निर्जल व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ। अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु हुने पूजाविधि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ। 

पछिल्लो समय छठ पर्व सबै समुदायले श्रद्धा र भक्तिपूर्वक मनाउन थालेका छन्। मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ सुदूरपश्चिमका विभिन्न जिल्लासँगै भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मोहना घाट पुग्ने गरेका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस