सुदूर नेपाललाई विश्वसँग जोड्दै

'गेटामा विश्वविद्यालय सञ्चालनको लागि बोल्नु पर्छ'

२०८० जेठ २७, ०१:१२

यमराज जोशी: गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि भइरहेको आन्दोलनको धेरै ठूलो महत्व छ ल। यो आन्दोलनमा सबैले साथ दिनु उचित छ। यो आन्दोलनमा  सम्पूर्ण विद्यार्थी साथीहरुमा एक्यवद्धता जनाउन अपिल छ।

तथ्यहरू हेरौं
१) सर्वप्रथमत विश्वविद्यालय बनाउन आवश्यक सम्पूर्ण भौतिक संरचनाहरु  झण्डै ६ अर्ब लगानीमा तयार भइसके। चाँडै त्यसलाई प्रयोगमा ल्याइएन भने त्यो भत्किने, चर्किने, गोरु बाख्रा बस्ने,मान्छे अनावश्यक जाने बस्ने, गलत क्रिाकलापमा लाग्ने जस्ता थुप्रै समस्या देखिन सक्ने डर छ। त्यो हाम्रो रगत र पसिनाले बनेको संरचना खेर जानदिनु हुँदैन । 

२) निर्माणाधीन मेडिकल कलेजलाई  सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयसहित विधेयक तयारीका लागि मन्त्रीपरिषद्काे बैठकले सैद्धान्तिक सहमति दिएकाे थियो। प्रधानमन्त्री प्रचण्डले निर्णयलगत्तै गेटामै पुगी संरचनाहरूकाे स्थलगत निरीक्षण र अवलाेकनसमेत गर्नु भएकाे थियाे । मन्त्रीपरिषद्काे निर्णय अनुरूप शिक्षा मन्त्रालयले विश्वविद्यालयकाे विधेयक तयार गर्न समिति गठन गरी विधेयककाे मस्याैदा तयार भई सकेको छ। विधेयक  अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइएकाे छ । सरकारले जेठ ५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालयकाे विधेयकलाई "यसै वर्ष संसदमा प्रस्तुत" गरिने उल्लेख भएकाे थियाे ।

याे सन्दर्भमा, नेपाल सरकारले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षकाे बजेटमा "गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने र १ सय सैय्याकाे अस्पताल सञ्चालन गर्ने" उल्लेख छ।त्यसपछि सरकारको नियत नै अस्पष्ट देखिएकाे छ। त्यत्तिमात्र होइन यसले समग्र सुदुरपश्चिम प्रदेशलाई राज्यले हेर्ने दृष्टकोणमा दोष देखिएको छ। प्रधानमन्त्री स्वयम् आएर बोलेको कुराबाट पछि हट्दै गरिएको यो अर्को षडयन्त्र पूर्वक कामले हामीमाथि ठुलो  षडयन्त्र भएको महसुस भएको छ।  

३) विद्यमान मेडिकल कलेज सम्बन्धि ऐन र प्रतिष्ठान सम्बन्धि ऐन अन्तर्गत गेटामा कलेज या प्रतिष्ठान खुल्ने सम्भावना नै छैन। अर्को ऐन ल्याउनु पर्छ।सरकारले छाता ऐन ल्याउने भनेको छ। त्यसको तयारीसम्म भएको छैन। विश्वविद्यालय ऐन त कम्तिमा ड्राफ्ट भएको छ। गेटामा विश्वविद्यालय स्थापना गर्ने सरकारको नीतिगत निर्णय भैसकेको छ। जुन निर्णय सर्वस्वीकार्य पनि छ। कार्यान्वयन गर्न व्यवहारिक र कानूनी हिसाबले सहज छ। अनि विश्वविद्यालय स्थापना किन नगर्ने ? मेडिकल माफियाहरुको चंगुलमा फसेर राज्य सञ्चालनको मुख्य जिम्मेवारीमा रहेका व्यक्तिले जनतालाई ढाट्न पाइँदैन । यो प्रत्यक्ष जनताको जीवन सङ्ग जोडिएको विषय हाम्रो भविष्यसङ्ग जोडिएको विषय हो। सामान्य होइन। त्यसैले गत माघ २९ को सरकारको निर्णय कार्यान्वयन गराउन आन्दोलन गर्नु जरुरी छ।


विश्वविद्यालय बन्दा के फाइदा हुन्छ ? 
• हामी निम्न आर्थिक अवस्था भएका, भौगोलिक विकटता भएको पिछडिएको क्षेत्रमा बसोबास गर्छौं। यातायात सुविधा छैन। भएको पनि छिटो र भरपर्दो छैन बाजुरा, दार्चुलादेखि नेपालगन्ज, काठमाडौं, लखनऊ पुग्दासम्म बिरामीको ज्यान गएको कति उदाहरण छन्। त्यसैपनि  हाम्रा लाखौं तिरेर काठमाडौं , लखनऊ, पलिया, दिल्ली, जानुपर्ने बिरामीहरूले नजिकै सेवा पाउँछन्।यसले हामीलाई हाम्रा आफन्तलाई नयाँ जीवन दिने छ। 

• विश्वविद्यालय बन्यो भने त्यो वरपर थुप्रै व्यापार व्यवसाय बढ्छ। विश्वविद्यालय स्थापना भए एक हजार हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना हुनेछ।  मान्छेहरूको चहलपहल बढ्दा सुदूरपश्चिममा  पर्यटनको विकास गर्न सहज हुनेछ। अन्य देशका विद्यार्थी अवलोकन गर्न आउने छन्। विश्वविद्यालयलाई ओल्ड क्लास मेडिकल शिक्षा र उपचार केन्द्र  बनाउन सकिनेछ। यसो गर्न सके उपचार सेवा लिन अन्य देशबाट पनि बिरामी आउने छन्। उदाहरण नजिकैको गेटा आँखा अस्पताल पनि छ। विश्वका उत्कृष्ट अस्पताल मध्येमा पर्छ। त्यहाँ नेपालीभन्दा भारतीय  नागरिक पनि उपचारका लागि बढी आउने गर्छन्।  
• आज मेडिकल शिक्षा आर्जन गर्न हामीलाई  ठुला सहरमा जानुपर्ने, महङ्गो शुल्क तिर्नु पर्ने बाध्यता छ। हाम्रा भाइबहिनीहरु इच्छा हुँदा पनि पढ्न पाएका छैनन्। यहीँ ठाउँमा मेडिकल विश्वविद्यालय बन्यो भने  हाम्रा भाइबहिनी छोराछोरीले सस्तोमा सरकारी लगानीमा आफ्नै घरको दालभात खाएर मेडिकल शिक्षा आर्जन गर्न सक्नेछन्।

• थुप्रै सम्भावनाले भरिएको सुदुरपश्चिमेली जनताको ठुलो योगदान र संघर्षबाट प्राप्त यो अवसरलाई सही समयमा उपयोगमा ल्याउनका लागि विद्यार्थी साथीहरुले एकपटक जुर्मुराउनु पर्ने देखिएको छ। समाजमा अनेकन तर्क वितर्क हुन सक्छन्। हाम्रो ध्यान अन्त भड्काउन सक्छन्। तर, एउटै कुरा के हो भने हामीले यो सुनौलो अवसरलाई गुमाउनु हुँदैन। गुमाउनु मात्र होइन कत्ति ढिलो गर्न दिनु हुँदैन । सही समय यहीँ हो। हामी यतिबेला बोलेनौँ भने लामो समय पश्चताउनु पर्ने देखिन्छ। हामी केही भएन भनेर साझ फेसबुकमा लेख्छौ। तर, केही हुनको लागि हामीले के भूमिका खेल्यौँ भनेर समयले मूल्याङ्कन गर्ने छ। म विगतदेखि नै यो विषयमा बोल्दै आएकोले विद्यार्थी साथीहरुले मलाई विश्वास गरेर निर्वाचित गरेर पठाएको विद्यार्थीको प्रतिनिधि पनि हुँ। यहीँ र यस्तै अन्य विषय उठाउँदा बोल्दा म आज कैलाली बहुमुखी क्याम्पस जस्तो प्रतिष्ठित संस्थाको स्ववियु अध्यक्ष भए। जनताका ठिक मुद्दामा बोल्नु विद्यार्थीको नैतिक दायित्व हो। तसर्थ गेटामा विश्वविद्यालय स्थापनार्थ एक भएर बोल्न सबैलाई अनुरोध गर्दछु।


 हाम्रो मुख्य समस्या व्यक्ति बन्दै जाने तर समाज नबन्ने हो। व्यक्ति बन्नु र नबन्नुमा खासै अर्थ छैन। तर, समग्र समाज कसरी बनाउने भन्ने हाम्रो चिन्ता हुनुपर्छ। त्यो हाम्रो जिम्मेवारी अहिले हाम्रो काधमा छ । अब एकपटक फेरि उठौँ साथी हो! ठुला ठुला परिवर्तन विद्यार्थी आन्दोलनबाट भएका उदाहरणहरु छन्। यो त हाम्रो भविष्यसङ्ग जोडिएको विषय हो। सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत सञ्जालमा #Tag गरेर लेखौँ। आआफ्ना क्षेत्रका जनप्रतिनिधि ज्यूहरुलाई ट्याग मेन्सन गरौँ फोन, एसएमएस गरौँ। आवश्यक परे सडक आन्दोलनमा सहभागी बनौँ। एकपटक एकै स्वरमा बाेलौँ "हाम्रो सपना र भविष्यमाथि खेलवाड गर्न पाइँदैन, मेडिकल विश्वविद्यालय बाहेक कुनै पनि बाहाना चाहिँदैन"।

यमराज जोशी स्ववियु अध्यक्ष कैलाली बहुमुखी क्याम्पस, धनगढी।

कमेन्ट लोड गर्नुस