सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी नगर बस सेवा विरुद्ध यातायात व्यवसायीकै सिन्डिकेट!

२०८१ असोज ५, ०६:५१ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरपालिकाको अत्तरिया रुटमा आइतवारदेखि नगर बस सेवा सुरू गरेको छ।

उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेर ठेक्कामार्फत नगर बस सेवा सुरु गरेको हो। धनगढीकै ‘के एण्ड के कन्स्ट्रक्सन’ले नगर बस सेवा चलाउने ठेक्का पाएको छ। नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा छ। तर, उपमहानगरपालिकाले सञ्चालन गरेको नगर बस सेवा विरुद्ध अन्य यातायात प्रालिहरुले सिन्डिकेट गरेको आरोप छ। एक जना नगर बस चालकले भने, ‘उनीहरुले हाम्रो बाटो छेक्ने गरेका छन्।

अगाडीबाट म्याजिक लगाउने, पछाडिबाट नगर बस लगाएर छेक्ने। यात्रुहरुलाई तानेर लैजाने। बसमा बसेकाहरुलाई पनि तानेर लैजाने गरेका छन्।’ ‘के एण्ड के कन्स्ट्रक्सन’ले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा सञ्चालनको ठेक्का पाएको छ। उक्त कन्स्ट्रक्सनलाई धनगढी–अत्तरिया ६ लेन सडकमा नगर बस सञ्चालनमा बढी दुःख दिने गरेको चालकको गुनासो छ।

हुलाकी राजमार्गमा नगर बस सञ्चालनमा समस्या नभएपनि धनगढी–अत्तरिया सडकमा भने समस्या हुने गरेको छ। नगर बसलाई सडकमा यात्रु चडाउन र झार्न नदिने, बसपार्कहरुमा प्रवेशसमेत नदिने, नगर बसमा चड्दा यात्रुहरुलाई तान्ने लगायतका काम अन्य यातायात प्रालिहरुले गर्दै आएको आरोप छ। नगर बसका लागि यात्रु चड्ने र ओराल्ने स्थान निश्चित नहुँदा पनि समस्या भइरहेको हो।

के एण्ड के कन्स्ट्रक्सनका प्रतिनिधि रविन्द्र बोहराले भने, अत्तरिया र धनगढी रुटमा समस्या देखिएको छ। उनले भने, ‘हाम्रो पार्किङ्ग स्थल छैन। ट्राफिकले समस्या गर्ने गरेको छ। अन्य नगर बसहरुले पनि समस्या गर्ने गरेका छन्।’ धनगढी नगर बसले करिब ७ किलोमिटर दुरीमा २० रुपैयाँ बाडा लिदै आएको छ।

नगर बस सेवाको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ। धनगढीदेखि अत्तरियासम्म ४० रुपैयाँका दरले यात्रु बोक्न थालेपछि अन्य यातायात प्रालिका सञ्चालनहरु रिसाएका छन्। धनगढीको हसनपुर हुँदै स्याउलेसम्म धनगढी नगर बस सञ्चालनमा आएसँगै अन्य यातायात प्रालिहरुलेसमेत बस सेवा सुरु गरेका छन्। उनले भने, ‘अरु नगर बसको पहुँच बढी छ। उनीहरु सबै एकजुट छन्। समितिबाट पनि धनगढीको नगर बसलाई लग्न नदिने कर्मचारीलाई भनेका छन्।

धनगढी उपमहानगरपालिकाले यातायात प्रालिहरुसँग बैठक गर्नु आवश्यक छ।’ १० वर्षसम्म नगर बस सञ्चालनको ठेक्का के एण्ड के कन्स्ट्रक्सनले पाएको छ। नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरिएको छ। उपमहानगरपालिकाले खरिद गरेका ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलिया–धनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस