सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा विश्वविद्यालय स्थापना गर भन्नु के अपराध हो?

२०८० जेठ २२, ०२:४९ नारायण अवस्थी

धनगढीः गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने औपचारिक निर्णय नेपाल सरकारले २०७९ माघ २९ गते गरेको हो। तत्कालिन प्रतिनिध सभा सदस्यहरूसँग छलफल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्बाट विश्वविद्यालय स्थापना गर्ने नीतिगत निर्णय पारित गराएका हुन्। सरकारले माघ २९ गते गेटा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले फागुन १ गते सुदूरपश्चिम भ्रमण गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री धनगढी विमानस्थलबाट गेटा पुगेका थिए।

पूर्व निर्धारित कार्यक्रमअनुसार धनगढीका नगरप्रमुख गोपाल हमाल र पूर्वाधार निर्माण समितिकोतर्फबाट प्रस्तुतिकरण गर्ने तय थियो। तर प्रधानमन्त्रीलाई खै किन हो? गेटामा बसेर कुराकानी गर्न दिइएन। उनलाई भवनको छतमा लगेर भौतिक संरचना हेर्न लगाइयो। र, पत्रकार सिताराम ओझाले मुस्किलले एउटा प्रश्न गर्न पाएका थिए। ओझाले गेटामा विश्वविद्यालय हुन्छ त प्रधानमन्त्री ज्यू? भनेर सोधेका थिए। प्रतिउत्तरमा प्रधानमन्त्री दाहालले 'क्याविनेटबाट निर्णय भइसक्यो। विश्वविद्यालय हुन्छ' भनेका थिए।

सरकारले माघ २९ मा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्नुपूर्व संसदीय समितिले गेटाको भ्रमण गरेको थियो। त्यो समसतिले पनि विश्वविद्यालय स्थापना गर्नुपर्ने राय दिएको संसदीय टोलीमा रहनु भएका तत्कालिन प्रतिनिधि सभा सदस्य डाक्टर दिपकप्रकाश भट्टले बताउँदै आएका छन्।

योभन्दा पहिले गेटामा कहिले मेडिकल कलेज कहिले प्रतिठान स्थापना गर्ने कुरा उठ्ने गरेको थियो। मेडकल कलेज र प्रतिष्ठानभन्दा विश्वविद्यालय उपयुक्त हुन्छ भन्ने राय व्यक्त गर्ने व्यक्ति गेटा घर भएका हाल अमेरिकामा रहेका डाक्टर तारामान कडायत हुन्। कडायतले राष्ट्रिय पत्रिका र दिनेशखबरमा आफ्नो लेख प्रकाशित गरेर विश्विवद्यालय स्थापना गर्ने बहसको सिर्जना गरेका हुन्।कडायतको विचार पत्रपत्रिकामा प्रकाशित भएपछि पूर्व सांसद डाक्टर दिपकप्रकाश भट्ट र तत्कालिन पूर्वाधार विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्तलले राष्ट्रियस्तरमा बहसको विषय बनाएका हुन्।

डाक्टर तारामान कडायतले सर्वप्रथम २०७७ मंसिर २४ गते नयाँ पत्रिकामा गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्नुपर्ने विचारसहितको लेख प्रकाशित गरेका छन्। भने यो पंक्तिकारले २०७७  मंसिर २८ गते डाक्टर कडायतसँग कुराकानी गरेर 'अब गेटामा मेडिकल कलेज वा प्रतिष्ठान होइन गेटा विश्वविद्यालय' भन्ने शिर्षकमा समाचार प्रकाशित भएको छ। यस्तै, २०७९ जेठ १७ मा डाक्टर कडायतले विश्वविद्यालय सञ्चालन भए हुने पाँच फाइदा समेटेर दिनेशखबरमा आफ्नो लेख प्रकाशित गर्न लगाएका छन्। त्यसपछि सुदूरपश्चिममा सर्वसाधारणले पनि विश्वविद्यालय नै हुनुपर्ने माग राख्न थालेका हुन्।

गेटामा विश्वविद्यालय हुनुपर्छ भन्ने माग सम्पूर्ण सुदूरपश्चिमवासीको हो। सरकारले नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय स्थापना गर्ने बुँदा उल्लेख छ। तर जेठ १५ मा एक सय शय्याको अस्पताल र प्रतिष्ठान सञ्चालन गरिने कुरा आएपछि अहिले लोकराज पाण्डे (आगो) आनन्दराज भट्ट, धर्मसिंह कुँवर जस्ता युवाहरू गेटामा विश्वविद्याल स्थापना हुनुपर्छ भन्दै सर्वसाधारणलाई जगाउँदै सरकारलाई खबरदारी गरिरहेका छन्। युवाहरूको आन्दोलन र खबरदारीमा सिङ्गो सुदूरपश्चिम एकाकार हुनु जरुरी छ। नत्र भने सुदूरपश्चिमले एक ऐतिहासि अवसर गुमाउने छ। सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय स्थापना गर्ने ऐतिहासिक अवसर नफुत्कियोस् भनेर सबैले एकजुट भएर सरकारलाई दबाब दिनुपर्छ।

सुदूरपश्चिम कहिलेसम्म उपेक्षित?
मेरो श्रीमती भर्खरै वीरगन्ज पुगेर फर्किएकी छन्। शिक्षक सेवा आयोगको परीक्षा दिन विरगन्ज पुगेकी उनले त्यहाँको विकास बारे तीन चार दिनमा जति बुझिन या देखिन त्यो उनले मलाई बताइन्। उनले वीरगन्ज र चितवनको जस्तो विकास धनगढी कहिले होला भनेर संशयपूर्ण प्रश्न गरिन्। मैले भइहाल्ला नि भनेर जवाफ दिए। तर, सुदूरपश्चिमको विकास पनि अन्य प्रदेश झै कहिले होला? भन्ने संशयपूर्ण प्रश्न र जिज्ञासाले मेरो मनमा पनि डेरा जमाएको छ।

हामीले आजसम्म नेताहरूका भाषणमा सुदूरपश्चिम काठमाडौंको नजरमा उपेक्षामा परेको भन्ने सुन्दै आयौँ। हाम्रा सुदूरिश्चिमका नेताहरूले भनेको पत्याउदै आयौँ। हाम्रा नेताहरूले काठमाडौंका शासकहरूले सुदूरपश्चिमलाई बजेट दिन मान्दैनन् भन्दै आए। हामीले यो भाष्य पत्यायौं। केन्द्रले सुदूरपश्चिमलाई हेर्दैन भन्ने हिजो हाम्रा बाजे र बुवा पुस्ताले पत्याएर। आजसम्म हामीले पत्यायौँ।

तर, अब भने पत्याउन नसकिने अवस्था आएको छ। सिंहदरबारले त २०७९ माघ २९ गते गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खोलिदिन्छु भनेको हो। अहिले आएर नाइ भन्ने को हो? किन नीति तथा कार्यक्रममा परेको विश्वविद्यालय स्थापना गर्ने कुरा बजेटमा परेन? कसले कैचि चलाएको हो? ती हातहरूको खोजी सिङ्गो सुदूरपश्चिमले खोज्नुपर्छ अब। जनाव! सुदूरपश्चिमले कहिलेसम्म उपेक्षित हुनुपर्ने हो? सुविधा सम्मन्न सरकारी अस्पताल, मेडिकल शिक्षा पढाइ हुने विश्वस्तरीय संस्था सुदूरपश्चिममा बनाउनै हुन्न? गेटामा विश्वविद्यालय चलाए के कसैले घरखेत बिक्री गरेर खर्च जुटाउनुपर्ने हो? होइन् भने विश्वविसद्यालयका विरुद्ध बोल्नेहरूलाई आजै चिनौँ आजैबाट तिनीहरूलाई सुदूरपश्चिममा बहिस्कार गर्ने घोषणा गरौँ।

राज्यसँग माग राख्नु अपराध होइन
राज्यबाट अहिलेसम्म अपहेलित सुदूरपश्चिमले यो पटक मेडिकल विश्वविद्यालय स्थापना गर्न लगाएर क्षतिपूर्तिसहितको सुविधाको दाबी गरेको हो। अहिलेसम्म उपचार गर्न कि भारत कि नेपालगन्ज र काठमाडौं जानुपर्ने अवस्था छ। सुदूरपश्चिममा संघीय सरकारको लगानीमा डडेल्धुरा अस्पताल छ। तर न त्यहाँ जनशक्ति छ न त दरबन्दी, उपकरण र अन्य भौतिक अवस्था नै संघीय अस्पतालको जस्तो छ।

धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको क्षमता ५० शय्या हो। अस्पताल विकास समितिले ७५ शय्या थपेर १२५ शय्याको क्षमतामा सेती येनकेन प्रकारेण चलिरहेको छैन घिस्रिइ रहेको छ। सुदूर पहाडबाट आउने बिरामीले सेतीमा उपचार गर्न पाउँदैनन्। महिनौपछि आउने पालो होटेल या आफन्तकोमा बसेर कुर्नुभन्दा निजीमा उपचार गर्न सहज मान्छन्। धनगढीमा सम्भव नभएको उपचार खोज्न भारत जानु सुदूरपश्चिमेलीहरूको बाध्यता हो।

यो बाध्यता आइ नलाग्नेहरूलाई गेटमा विश्विद्यालय आवश्यक छैन होल। उहाँहरूलाई प्रतिष्ठान पनि ठुलो लाग्ला। तर, यहाँका जनताले मागेको विश्वविद्यालय कसै व्यक्ति विशेषले पूरा गर्नुपर्दैन। सुदूरपश्चिमेलीहरूले राज्यसँग राखेको मागमा सक्नुहुन्छ एक्यबद्धता जनाउनुहोस् सक्नुहुन्न् कृपया मौन बस्न आग्रह छ। दृश्य-अदृश्य खेल प्लिज नखेल्नुहुन अनुरोध छ। राज्यसँग माग राख्नु अपराध होइन। जायज माग राख्दा टाउको नदुखाइदिनु होला।

माग पूरा गराउन एकजुट हुन सिकौँ
युवाहरूको अगुवाइमा भइरहेको आन्दोलनमा सहभागी हुन अफ्ठ्यारो नमानी सबैले समाहित हुनु सुदूरपश्चिमको आजको आवश्यकता हो। कसैले सडकमा बहस चलाउँदा केहीले कोठामा पत्रकार सम्मेलन नगरिदिनहुन अनुरोध छ। सबैले एकजुट भएर गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्ने शंखनाद गर्न सक्यो भने राज्य लाचार बन्नेछ। राज्यलाई लाचार बनाउन सकिए उसले आफैले गरेको निर्णय टेकेरे हाम्रो एक सूत्रीय माग पूरा हुने छ।

यदि हामी आआफै लजायौं भने हामीलाई हामीसँग लडाएर हाम्रो मागको हत्या गरिने छ। गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न ज-जसले कम्मर कसेर लाग्नु भएको छ। तपाईहरू हरेस नखानु होला। जो दुविधामा हुनुहुन्छ, उहाँहरू सेतीमा उपचार गर्न जाँदा भोग्नुपर्ने सास्ती समझनु होला। जो विश्वविद्यालय स्थापनाको विपक्षमा हुनुहुन्छ उहाँहरू चुप भएर बस्नु होला। नागरिकहरूको आक्रोशको निशाना हुनबाट बच्नु होला।

आन्दोलनबाट माग पूरा गराउन सुकिन्छ। गेटामा मेडकिल विश्वविद्यालय स्थापना गर्न सम्भव छ भनेर स्वास्थ्य क्षेत्रका विज्ञहरूले भनिरहनु भएको छ। गेटा हरेक कोणबाट विश्वविद्यालय स्थापनाका लागि उपयुक्त छ। विश्वविद्यालयका पक्षमा जनदबाब सिर्जना गर्न सबै राजनीतिक दल, नेता, नागरिक समाजका अगुवा, वुद्धिजीवी, युवा र विद्यार्थीले एकजुट हुनैपर्छ। नत्र विश्वविद्यालय हाम्रा लागि केवल मृगमरिचिका हुने छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस