सरुवा र बढुवाका लागि नाजायज लाभ लिनेदिनेलाई कडा कारबाही गर्छुः गृहमन्त्री

काठमाडौँः उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ लिने र दिने दुवैलाई कडा कारबाही गर्ने बताएका छन्।
उनले त्यस्ता कार्यका लागि कसैलाई पनि लेनदेन नगर्न चेतावनी समेत दिएका छन्। पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको उनको दाबी छ। ’सरुवा र बढुवाका लागि माथि लिने काम बन्द भयो। मन्त्रालयमा कसैले लिएको थियो भने बन्द भयो। विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु,’ उनले चेतावनी दिए, ’खबरदार ! कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु।’
आफूलाई निष्पक्ष राख्न खोज्दा विभिन्न अप्ठ्यारा आउने गरेको पनि श्रेष्ठले सुनाए। उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि दृढ कदम चालिरहेको र कुन पार्टीका नेता पर्छन् भन्ने वास्ता नगरेको बताए। ’हामीले सुशासनको स्थापना गर्न कदम चालेका छौं, कुन पार्टीको को पर्छ मलाई थाहा छैन। आज कुनै पार्टीको को परे होला, भोलि मेरै पार्टी माओवादीको नेता परेमा आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन,’ उनले भने।

’भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन नगरिकन समृद्ध देश बनाउने कोरा नारा हो,’ उनले भने।