सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडमा केबुलकारदेखि ‘हिलस्टेशन’सम्मका विषय बजेटमा समावेश

संघीय बजेटमा सुदूरपश्चिम

२०८० जेठ १६, ११:११

वीरेन्द्र भट्ट, धनगढीः विगतका वर्ष झै आगामी आर्थिक वर्षको बजेटमा पनि सुदूरपश्चिमलाई ठग्ने काम भएको छ। गतिला कुनै नयाँ योजना बजेटमा समावेश गरिएको छैन्। कृषि, उद्योग, पर्यटन, खानी, वन, जलविद्युत, जडीबुटीमा उच्च संभावना बोकेको सुदूरपश्चिमको विकासमा संघीय बजेट मौन देखिएको छ। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा सुदूरपश्चिममा ठोसठोस योजना समावेश गरिएको छैन।

प्रस्तुत बजेटमा अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गरेर प्लास्टिक झोलाको सट्टा कागज वा कपडाको झोलाको प्रयोगलाई प्रोत्साहन गरी वातावरण संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिने विषय समेटिएको छ। त्यस्तै दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिनेछ।

एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाह, कन्टेनर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नति लगायतका व्यापार पूर्वाधार निर्माण र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उल्लेख भए पनि बजेट खुलाइएको छैन। त्यस्तै हिमाली क्षेत्रको सुन्दरताको अवलोकन तथा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्न पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म जोड्ने ग्रेट हिमालयन ट्रेल निर्माण कार्यलाई तीव्रता दिइने, बडिमालिका, घटालथान, खप्तड र मणिका मन्दिरको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरणदेखि सुदूरपश्चिममा एक हिल स्टेशन विकास गरिने विषय बजेटमा समावेश गरिएको छ।

खप्तडमा केवलकार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने उल्लेख छ। धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास पुरानै विषयलाई निरन्तरता दिए पनि काम हुन सकेको छैन। त्यस्तै काठमाडौंमा रहेको बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी शैक्षिक गुठीमार्फत डडेल्धुरामा एक नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने र डडेल्धुरामै मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट छुट्टयाएको उल्लेख छ।

डोटीमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। गेटा अस्पताललाई एकसय शैय्याको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिएको उल्लेख छ।

कैलालीको लम्कीमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइनेछ। धनगढीमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापनको कार्य शुरू गरिनेछ। धनगढीमा फाप्ला क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरिएको उल्लेख छ। निर्माणाधीन धनगढी रंगशाला र कभर्ड हल निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गरिएको छ। कैलाली र डडेल्धुरा सडक खण्डको निर्माण तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ।

महाकाली कोरिडोरको बम्हदेव–झुलाघाट–दार्चुला र दार्चुला–टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि ४५ करोड विनियोजन गरिएको छ। सेती राजमार्गको टिकापुर–लोडे–चैनपुर र चैनपुर–तक्लाकोट खण्ड निर्माण गर्न ३० करोड विनियोजन गरिएको छ। खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडकलाई प्राथमिकताका साथ अघि बढाउन २५ करोड बजेट विनियोजन गरिएको छ।

दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिको लागि ३० करोड रकम छुट्याएको छ। मोहना–अत्तरिया खण्डको बाँकी कार्य सम्पन्न गरिने उल्लेख छ। बैतडी–पाटन नयाँ शहर आयोजनाको पूर्वाधार निर्माण कार्यका लागि बजेटको व्यवस्था गरिएको छ। त्यस्तै रानी–जमरा–कुलरिया सिँचाइ आयोजना अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर सिञ्चित हुने शाखा नहर सञ्चालन गरी बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध बजेटमा उल्लेख छ।

साथै लम्की मूल नहरको शाखा तथा प्रशाखा नहरबाट थप एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ। सो आयोजनाका लागि दुई अर्ब ६३ करोड बजेट विनियोजन गरिएको छ। महाकाली सिंचाइ आयोजना निर्माण कार्य तीव्र गतिमा अघि बढाइनेछ। कञ्चनपुर जिल्लाको ब्रम्हदेव क्षेत्रको दुई हजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन शाखा नहर निर्माण कार्य अगाडि बढाइनेछ।

सो आयोजनाका लागि एक अर्ब १७ करोड बजेटको व्यवस्था गरिएको छ। त्यस्तै महाकाली, कर्णाली, मोहना, खुटिया, जोखिमयुक्त नदी तथा पहिरोको नियन्त्रण तथा व्यवस्थापन गर्न बजेटको व्यवस्थापन गरिएको छ। पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६ जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइनेछ। पश्चिम सेती कोरिडोर प्रसारण लाइनको वित्तीय स्रोत व्यवस्थापन गरी निर्माण कार्य प्रारम्भ गरिने विषय संघीय सरकारको सार्वजनिक बजेटमा समावेश गरिएको छ।

कमेन्ट लोड गर्नुस