बझाङमा अवस्थित सुर्मासराेवर तालकाे संक्षिप्त चिनारी
म दार्चुलेली भएर बझाङकाे बारेमा लेख्नु उक्त क्षेत्रमा बसेका र साे क्षेत्रसंग राम्राे जानकारी भएका पाठकहरूकाेलागि त त्यति शाेभनीय नहुन पनि सक्छ ।
तर ७७ वटै जिल्लामा बसाेबासगर्ने सुर्मासराेवर तालकाे नामसम्म सुनेका पाठकहरूकाे लागि भने थाेरै जानकारी भएपनि अवश्य नै उपयाेगी सिद्ध हुने कुरामा विश्वस्त छु ।
सुर्मासराेवर ताल बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको सुर्मा टोलमा अवस्थित छ । सुर्मासराेवर ताल बझाङ जिल्लाको सबैभन्दा ठूलो ताल हो । सुर्मा सरोवर १४ हजार फिटको उचाइमा हिमालकाे फेदमा अवस्थित छ । याे ठाउँमा गृष्मऋतुमा समेत धेरै जाडो हुने गर्दछ ।
चाँदेशिखर हिमालको फेदमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर करीब पाँच किलोमिटर तल सुनिगाडमा आएर मिसिन्छ । सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल धेरै मानिसहरूले खान सुत्न मिल्ने ठुलाे विरु ओडार रहेकाे छ ।
सुर्मा सरोवर ताल छेउमा प्रसिद्ध धार्मिक स्थल सुर्मा देवीको मन्दिर छ । जुन मन्दिरमा सुर्मा देवी बिराजमान हुनु हुन्छ । यहाँ सुर्मा देवीकाे भक्तिभावको लागि मानिसहरू अाउने गर्दछन् । यो स्थानमा साउन एकादशीमा मेला लाग्दछ । यस तीर्थ स्थलमा जाने श्रदृधालु भक्तजनहरूले सफा, शाहाकारी भोजन र अनिवार्य ब्रहचारी नियम पालन गर्नु पर्दछ । अन्यथा मनाेबाञ्छित फल प्राप्त नहुने तथा जीवनमा विभिन्न किसिमका बाधा अडचन अाउने जनविश्वास रहेकाे छ । सुर्मा सरोवर ताल, बझाङ्ग, जिल्ला, सुर्मा गाउँपालिकाकाे सुर्मा टोलमा रहेको छ । यो धेरै वर्ष पुरानो प्राचीन ताल हो । यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट ३० कि. मि.काे दूरीमा उत्तर दिशामा पर्दछ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो चैनपुर सदरमुकामबाट दौलीचौर, सुर्मा, धोहडा, पटयुरो, लुमण्डा, डौलो चौर, थकन डाडा, पाङ्गनजडो (सुर्मा मन्दिर) हो ।
याे तिर्थ स्थलमा जाने तिर्थालुहरूले लसुन प्याज र भात खान बर्जित छ । सुर्मा मन्दिर र सुर्मा ताल खाली खुटृा हिड्नु पर्ने र यात्रा गर्दा छाता बोक्न पाउने, कुनै पनि टर्च लाइट/दियो बाल्न नपाउने अर्थात नहुने मान्यता रहेकाे छ । यस पश्चात चैनपुरबाट यात्रा शुरु हुने दिन घोगाडा भन्ने ठाउँ पुग्नु पर्ने र त्यही बसेर पुजा आजा गर्नु पर्ने नियम छ । दोस्रो दिन नुहाई धुवाई गरेर पटयुरी, लुमण्ड, दौलीचौर हुँदै पाङ्गड जडो पुग्नु पर्छ । यहाँ सुर्मा देवी मन्दिरमा पुजा आजा गर्ने र तेस्रो दिन फेरी नुवाई धुवाई गरेर सुर्मा ताल जाने उत्तर तर्फ ठाडो उकालो बाटो र त्यहाँ पुगेर तालमा पुजा गर्ने गरिन्छ । चौथो दिन विहान फर्कने र पाङ्गडजडो पुगेर मात्र जुत्ता चपल लगाउने अनि फर्कने गरिन्छ भनेर सुर्मासराेवर यात्रा गरेर फर्केका बझाङ्गी दाईबाट जानकारी प्राप्त गरेकाे छु ।
नवर्दुगामध्ये कान्छी बहिनी सुर्मादेवीको क्रिडास्थल रहेकोले यस तालको नाम सुर्मा सरोवर रहेको हो भन्ने धार्मिक जनविश्वास छ । जयपृथ्वीबहादुर सिंहले सुनारहरू झिकाएर भुक्तोली भन्ने ठाउँमा बनाएको सुन प्रशोधन गर्ने आरन सुर्मादेवीले भष्म पारिदिएको भन्ने किम्वदन्ती पनि रहेकाे छ । सुर्मादेवीकाे श्रापले गर्दा उक्त ठाउँमा अहिलेसम्म बोटबिरुवा उम्रिन नसकेको स्थानीयहरु बताउछन् ।
विरु ओडारबाट केही तल धानसेरी पार्थीका विशाल नागीहरू छन् । छेवैमा तातोपानीको मुहान छ। त्यहाँबाट दुई किमी पूर्व हिंडेपछि धानसेरी जिउलो पुगिन्छ । किम्वदन्ती अनुसार, उहिले पार्थी डाँडाबाट हेर्दा यहाँ सयौं महिलाले सुर्मादेवीको धान रोपिरहेका देखिन्थे रे ! यहाँ अर्को एउटा सानो ताल पनि छ, जुन यस भेगका कस्तूरी, झारल, नाउर आदि वन्यजन्तुको पानी पिउने ठाउँ हो । हिमश्रृंखलाको अवलोकन गर्दै धानसेरीबाट ६/७ घण्टा ओरालो हिडेपछि सुर्मादेवी मन्दिर रहेको सुर्मा गाउँमा पुगिन्छ । उहिले सुर्मा र दुर्गा दिदीबहिनी थलीमा बस्दथे भन्ने लाेक श्रुति रहेकाे छ ।
लसुनको निहुँमा झगडा परेका दिदीबहिनीले अंशबण्डा गर्दा थलीका खेतहरू बग्न थालेछन् । तिनै खेतका बीचमा रहेको पाँगरको रूख तान्दा त्यसको आधा भाग चुँडिएर आएछ । त्यो रूख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रूख थलीमै रहेको जनविश्वास रहेकाे छ । चाेखाे भाेकाे भई तन मन वचनले सुर्मासराेवरकाे दर्शन गर्नाले जीवनभरि गरेका गल्तिहरू मिनाहा हुने र पूण्य प्राप्तहुने जनविश्वास रहेकाे छ ।
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ -४ गाेठ्युडी, दार्चुला