सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वासमा दोदा नदि कटान प्रभावित क्षेत्रको अनुगमन

२०७९ चैत्र १६, १०:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित दोदा नदि कटान प्रभावित क्षेत्रको अनुगमन गरिएको छ। पुनर्वास नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सीकोर नेपालको टोलीले बुधबार संयुक्त रूपमा पुनर्वास नगरपालिका वडा नम्बर ९ सिताबस्ती र वडा नम्बर ७ परासनबस्तीस्थित कटान प्रभावित क्षेत्रको अनुगमन गरेको हो।

विगत लामो समयदेखि कटान, पटान तथा डुवानको समस्या खेप्दै आएको सिताबस्तीको अति प्रभावित क्षेत्रमा जैविक तटबन्ध निर्माण गर्ने तथा परासनबस्तीमा वृक्षारोपण गर्ने सम्भावना देखिएको छ। पुनर्वास नगरपालिकाले तटबन्ध निर्माण तथा वृक्षारोपणको कामको लागि छिट्टै पहल गरिने बताएको छ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले प्रभावित क्षेत्रको अनुगमन पछि आयोजना गरिएको बैठकमा भने, 'प्रभावित क्षेत्रमा दोदा नदिले वर्षेनी कटान गर्दै आएको छ। सिताबस्ती कटानको उच्च जोखिममा रहेकाले त्यहाँ जैविक तटबन्ध गरिने र परासनबस्तीमा वृक्षारोपण गर्नेछौँ।' 

मेयर शर्माले भने, 'पुनर्वास नगरपालिकाको विपद् व्यवस्थापन समितिले यो विषयमा निर्णय लिनका लागि कार्यपालिकालाई अनुरोध गर्नेछ र कार्यपालिकालको निर्णयपछि मर्सीकोर नेपाल र एनएनएसडब्ल्यूए–को संयुक्त लगानीमा बन्ने गरि जैविक तटबन्ध निर्माण र वृक्षारोपणको काम सुरू हुनेछ।'

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन (एमरेड) परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले सिताबस्तीस्थित दोदा नदि कटान क्षेत्रको जोखिम संवेदनशीलतालाई ध्यानमा राख्दै ५०० मिटर जैविक तटबन्ध निर्माण गरिने बताए।

उनले भने, 'जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले सिताबस्तीस्थित दोदा नदिमा ५१ मिटर लामो ढुङ्गाको तटबन्ध निर्माण गर्ने कार्यको थालनी गरेको छ। त्यसैगरी नगरपालिका र एमरेड परियोजनाको संयुक्त पहलमा  ५०० मिटर जैविक तटबन्ध गर्ने गरि तयारी गरिएको हो।' परासन क्षेत्रमा भने वृक्षारोपण गर्ने तयारी भएको उनले बताए।

पुनर्वास नगरपालिकाको सिताबस्ती र परासनबस्तीमा वर्षेनी ठूलो मात्रामा खेतीयोग्य जमीन कटान हुँदै आएको छ। जसका कारण स्थानीयहरूले ठूलो नोक्सानी बेहर्नु परेको छ। सिताबस्तीमा २००० मिटर तटबन्ध निर्माण गरिनुपर्ने स्थानीयको माग छ। तर, अहिलेलाई ५०० मिटर तटबन्ध बनेपनि केही राहत हुने उनीहरूको भनाई छ।
 

कमेन्ट लोड गर्नुस