सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निजी विद्यालयले शुल्क बढाउन नपाउने निर्णय

२०७९ चैत्र १४, ०४:३८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन नपाउने गरी निर्णय भएको छ। नयाँ शैक्षिक सत्र २०८० मा धनगढीका निजी विद्यालयले विद्यार्थी शुल्कमा वृद्धि गर्न नपाउने  निर्णय भएको हो। 

सामुदायिक विद्यालयले विद्यार्थी शुल्क लिनै नपाउने व्यवस्था छ। तर, संस्थागत विद्यालयले पनि यस वर्ष विद्यार्थी शुल्क बढाउन नपाउने निर्णय भएको धनगढी उपमहानगरपालिकाका उपसचिव एवं शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए। धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन नपाउने गरी निर्णय भएको उनले बताए।

अभिभावकको आर्थिक अवस्थालाई मध्यनजर गरी यस वर्ष नयाँ शुल्कदर बढाउन नपाउने गरी उपमहानगरले यस्तो निर्णय गरेको हो। ‘यस वर्ष कुनै पनि संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने  निर्णय भएको छ, यस विषयमा विद्यालय सञ्चालक पनि सकारात्मक नै देखिएकाले निर्णय कार्यान्वयन गराउन समस्या हुने देखिदैन’, उनले भने ‘सामुदायिक विद्यालयले त उसै पनि विद्यार्थी शुल्क लिनै पाउँदैनन्।

संस्थागत विद्यालयमा पनि यस वर्ष अहिलेको आर्थिक अवस्थालाई हेरेर शुल्क बढाउन नपाउने  निर्णय गरिएको छ।’ निजी अर्थात संस्थागत विद्यालयले यस वर्ष शुल्क नबढाउने निर्णय कार्यान्वयन गरे अभिभावकलाई आफ्ना बालबालिका पढाउन सहज हुने भन्दै अभिभावकले धनगढी उपमहानगरले गरेको  निर्णयको खुलेर प्रशंसा गरेका छन्।

धनगढी उपमहामनगरपालिका वडा नम्बर १२ का महेश ओझाले निजी विद्यालयले शुल्क पढाउन नपाउने निर्णय स्वागतयोग्य भएको बताएका छन्। उनले उपमहानगरले यो निर्णय कार्यान्वयन गर्न सक्नुपर्ने  बताएका छन्।

कमेन्ट लोड गर्नुस