नवौं राष्ट्रिय खेलकुदः आज औपचारिक उदघाटन
कास्की: गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ।
उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्नेछन्। उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए।
राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो। दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो। त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो। आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् ।