सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम राजधानी कपः कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनलमा

२०७९ असोज १०, ०६:५१ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन्। जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। हिजो पहिलो दिनको उद्घाटन खेल रात परेपछि रोकिएकोमा आज खेलाईएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ।

 लगातारको वर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिर्वतन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हरायो। कर्णाली प्रदेशले फाईनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमती प्रदेश बीचको खेलको विजेतासँग खेल्नेछ। 

आज नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई हराएको छ। लुम्बिनीले मधेश प्रदेशलाई ४–२ गोल अन्तरले हराएको हो। जितसँगै लुम्बिनी प्रदेश पनि सेमिफाइनल पुगेको छ। फाइनल पुग्नका लागि लुम्बिनी प्रदेशले गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच हुने खेलको विजेतासँग खेल्नेछ। प्रतियोगिता अन्तर्गत भोली सोमबार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच खेल हुनेछ। 

पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ। 

कमेन्ट लोड गर्नुस