संघर्ष: जीवनको अनिवार्य यात्रा
-इन्दु धामी
साँच्चै नै समय अनि जीवनको यात्रा अनिश्चित हुन्छ। किनकी न त समयको ठेगान हुन्छ, न त जिन्दगीको। मानिसले सोचेजस्तो र चाहेजस्तो भन्दा विल्कुलै फरक हुन्छ। जिन्दगी कहाँनेर के भइदिन्छ ? त्यो पत्तै हुँदैन। वास्तवमा भन्ने हो भने समय अनि जिन्दगी एक अर्काेमा सम्बन्धित छन्। किन थाहा छ ? समय अनुसार जिन्दगी चलिरहन्छ नि, समयले नै मानिसलाई जिवनका यात्राहरुमा फरक–फरक पात्र बनाउँछ ।
भर्खरै जन्मेको बालक समय अनुसार नै हुर्कदै वृद्ध हुन्छ। हामी सबैलाई थाहै छ तर, जीवनका यात्राहरुमा हरेक मान्छेले भोग्ने भोगाई केवल त्यहीँ मानिसलाई मात्र थाहा हुन्छ। जसले जीवनलाई नजिकबाट नियालिरहेको हुन्छ। हुन त सबै मानिसले भोग्नैपर्छ, जीवनका उतारचढावहरुसँग संघर्ष गर्नैपर्छ किनकी जीवन एउटा यात्रा हो। निरन्तर रुपमा अघि बढ्नुपर्छ।
ती यात्राहरुमा अनेकौं दुःख सुख भोग्दै पाइला पाइलामा ठेस लाग्दै लड्दै, उठ्दै कहिले हौसिदै, कहिले निराश हुँदै यात्राहरु पार गर्नुपर्छ। कति अचम्म छ यो जिन्दगी पनि। जबसम्म सास छोडिदैन तबसम्म यी यात्रा गरिरहनुपर्ने चाहे दुःखमा होस् चाहे सुखमा जसरी पनि जीवन बिताउनुपर्ने हुन्छ। न त समयबाट टाढा जान सकिन्छ, न त यो जीवनबाट नै। कति अजिव छ है !
जीवन साँच्चै नै जीवन भनेको के हो त ? अनि यी जिन्दगीका यात्राहरुमा भेटिने, छुटिने कथा व्यथासंगै जीवनको अन्त्य हुने यो प्रकृतिको रित पनि कति अचम्मको छ। बाचुञ्जेलसम्म दुःख गर्नुपर्ने, लोभ मोह मायामा भुल्नुपर्ने, कोही रंगीन दुनियाँमा रमाइरहेका हुन्छन्। कोही पीडै पीडामा छटपटाइरहेका हुन्छन्। तर पनि जीवनका यात्रा गन्तव्य पूरा गर्नुछ। मरे पछि स्वर्ग जानुछ। सकेसम्म हरेक मानिसले बाचुञ्जेल राम्रो काम गरेर मरौं भन्ने सोच्छन्। तर, सोचेभन्दा फरक हुन्छ। किनकी मानिस भए पछि बाँच्नका लागि संघर्ष गर्नुपर्याे।
यसैक्रममा अनेक मोह, लाज, क्रोधले हामीलाई मतिभ्रष्ट बनाउँछ। हामी जीवनमा जे गर्न चाहदैनौ हामी त्यही गरिराखेका हुन्छौं। पाप धर्मको ख्याल नराखी कूकर्म गर्छाै। परिणाम स्वरूप हामीलाई गल्तीको सजाय मिल्छ। तर, स्वीकार गर्दैनौ। अनि दोष दिन्छौं समयलाई। यो समय खराब, त्यो समय खराब भन्दै धिक्कार्दै हामी निराश हुन्छौं। अनि त हाम्रो जीवनको यात्रा पनि दुःखी नै हुन्छ। आज जस्तो दिन भोली यही रूपमा रहँदैन। धर्तीका यी हिमश्रृंखलाहरु फेरिदै जान्छन्। पुरानो पात झर्दै नयाँ पात पलाउँछन्। हाम्रा गाउँका बुढापाका मान्छे हराउँदै जाँदा नयाँ मानिसको आगमन हुन्छ। खासगरी सारा पृथ्वीको अवयवहरु बदलिन्छन्।
तर, मानिसका यी यात्राहरु निरन्तर चलिरन्छन् अर्थात् प्रकृतिको नियम निरन्तर चलिरहेको हुन्छ। त्यसैले त भनिन्छ नि प्रकृति अनि समय कति बलवान छ। जसले मानिसलाई परिस्थिति सँग जुध्न सिकाउँछ। हरेक समस्या पार गर्दै जीवनका पाइलाहरु परिवर्तन हुँदै अगाडि बढ्ने त हो नि। हिजोको दिनहरु कस्ता थिए आजका दिनहरु कस्ता छन् र भोली के कस्ता हुनेछन् ? त्यो सबै समयले नै निर्धारित गर्दछ।
साँच्चै नै जीवन संर्घषले हो। र संघर्ष नगरी सुख नै छैन। बाँच्नको लागि हामीले काम गर्नुपर्छ तर कहिलेकाही सही समयमा काम पूरा गर्न नसक्दा हामीलाई पश्चाताप हुन्छ। त्यसैले पनि हामीले यसलाई पार गर्नको लागि समयको सही सदुपयोग गर्न जरुरी हुन्छ। किनकी समयले हरेक मानिसलाई अगाडि बढ्ने मौका दिएको हुन्छ। हामीले त्यो मौकाको दुरुपयोग गर्यौं भने हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं। र आफ्नो जीवनका ती यात्राहरु पनि त कठिन हुन्छन्।
समय पलपलका हरेक क्षणहरुमा फरक–फरक तरिकाबाट गुज्रिरहेका हुन्छन्। नचाहँदा नचाहँदै पनि हामी समय अनुसार चल्न पुग्छौं र चल्नु पनि त पर्छ। किनकी यही नै प्रकृतिको रित हो। तर, हामी सही मार्ग अनि जीवनका हरेक पाइलाहरुमा सधैं सत्य निष्ठा र कर्तव्यका साथ अगाडि बढ्यौं। हामीलाई जिन्दगी जिउन सहज हुन्छ अनि हाम्रो जिवनको यात्रा साँच्चै नै सुन्दर, अविस्मरणीय हुन्छ।
वास्तवमा हामी आम मानिसले जन्मेदेखि अहिलेसम्म भोग्दै र अनुभव गर्दै हुर्केको त हो नि। त्यसैले पनि जीवनका यस्ता भोगाइहरु हरेक मानिसले भोग्नुपर्छ। किनक समय अनुसार सबै चिज परिवर्तन हुन्छन्। जस्तैः बालक जवान हुन्छ, जवान वृद्ध हुन्छ, यो प्रकृतिको नियम हो। समयलाई चिनेर हामी समय अनुसार अगाडि बढ्न सक्र्नुपर्दछ। आफू धैर्यवान हुनुपर्छ।
समयले सबै कुरा सिकाउँछ आज गरिब निरीह मान्छे पनि भोली धनवान विद्वान् बन्नसक्छ। समयको के भरोसा हाम्रो शरीर त केवल हाडमासुको त हो। कहाँ कतिखेर के भइदिन्छ थाहा छैन। अझ पनि अधिकांश मानिस सधैं एकनाश हुन्छ, सधैं हामीले चाहे जस्तो हुन्छ भन्ने सोच्छौ।
त्यसैले त हाम्रो समाजमा निर्धो, दुर्वल व्यक्ति माथि हिंसा गर्छाैं। तर, भोली हामी कुन अवस्थामा पुग्छौं। त्यो कसैलाई थाहै हुँदैन। आज बलवान् मानिस पनि भोली निरिह बन्न सक्छ। तर, यसको मतलव केवल मानिसको शारीरिक संरचनालाई मात्र नहेरी मानिसले गर्ने काम लगनशील र परिश्रमकै कुरा गर्दा समयमै कुनै महत्वपूर्ण काम फत्ते नहुँदा र गर्न नसक्दा हामीलाई जिवनभर पश्चताप हुन्छ। यदि समयलाई नचिनेर हामीले त्यसलाई बेवास्ता गर्यौ भने भविष्यमा हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौ।
जीवन र प्रकृतिको प्रवाहमय परिवर्तन गतिलाई बुझ्न सकिएन र चल्न सिकिएन जानिएन भने हामीले पाउनुपर्ने ती खुसी, सुख र उपलब्धिहरु पनि एकदिन खोसिने छन्। ती खुसी, सुख र प्रगतिका बाटाहरुमा कठिन परिस्थिति त हुन्छ नै। किनकी हामीले यी कठिनभन्दा कठिन परिस्थितिलाई सामना गरेर आफु बुद्धिमान र बलवान बन्नुपर्छ।
जीवनका गोरेटा ती यात्राहरुमा खुसी नै खुसी, सुख नै सुख त छैनन् नि। कहिले घाम, कहिले पानी आँधी हुरी संगै जीवन पार गर्ने हो। यहाँ हरेक मानिसले आफ्नो जिन्दगीलाई वेहत खुसियाली बनाउन चाहन्छ। म पनि त चाहान्छु तर ती खुसी, सपनाको चाहना पूरा गर्नको लागि त जीवनका बाधाहरु तोड्न सक्नुपर्छ, त्यसका लागि साहस मात्रै होइन, धैर्यता पनि चाहिन्छ।
जीवनको मुल उद्देश्य र हरेक भोगाइहरुलाई अनुभव गर्दै ती रहरहरु अन्ततः जीवनसँगै खरानीमै सकिने त हो नि। बाचुञ्जेल के को रिस राग, तछाडमछाड र लुछाचुडी ? त्यसैले जीवनका यी गोरेटाहरुमा निरन्तर संयमित यात्रा गर। जबसम्म थाक्दैनौ, तबसम्म यात्रा गर, इमान्दार प्रयत्नसहित संघर्ष गर। किनकी नेपाली उखान ‘रात रहे अग्राख पलाउँछ’ भने झै समयको महत्वलाई बुझेर अगाडि बढ्नुपर्छ।
त्यसैले समयप्रति र जीवनका अनवरत यात्राहरुमा हामी कठिनाइका खुड्किला,भर्याङ चढ्नुपर्छ। भोलीको सुन्दर भविष्यको लागि हामीले निरन्तर प्रयास गर्नुपर्छ। किनकी जीवनको सार नै यही हो। तसर्थ, समयको महत्त्व बुझ्नु भनेको यथार्थवादी एवम् वस्तुवादी बन्नु मात्र होइन।
सानोदेखि ठूलो सम्मले यहाँ हर मानिसले आ–आफ्नो स्थान र हैसियतको काम र भूमिका आ–आफ्नो जिम्मेवारी ठीक–ठीक समयमा गर्न सक्यौं भने मात्र सफलता चुम्न सकिन्छ। हाम्रो जीवन मुस्कुराउने छ। हामीलाई खुसी अनि सुख प्राप्ति हुनेछ। त्यसैले जीवनको सार, अर्थ बुझेर आफ्नो मन मस्तिष्क ताजै राख्नु सकारात्मक र शिष्टाचार इमान्दारी बन्नु नै असल जीवनको गुण हो।