सुदूरपश्चिममा ३७ हजार बढी नयाँ मतदाता थपिए
धनगढी: सुदूरपश्चिम प्रदेशमा ३७ हजार बढी नयाँ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी ३७ हजार २ सय ६१ नयाँ मतदाता थपिएका हुन्।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट उक्त नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए।
उनका अनुसार कैलालीमा ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका छन् भने कञ्चनपुरमा ९ हजार ८ सय २८, बाजुरामा १ हजार ३ सय ६४ जना नयाँ मतदाता थपिएका हुन्। यस्तै अछाममा ४ हजार ८०, डोटीमा २ हजार १ सय ७२, बझाङमा १ हजार ६ सय ५९ नयाँ मतदाता थपिएका हुन्। डडेल्धुरामा २ हजार २ सय ५८, बैतडीमा २ हजार ८ सय ६ र दार्चुलामा १ हजार ६ सय ६४ नयाँ मतदाता थपिएका हुन्।
सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरू प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन्। सरकारले आउँदो मङ्सिर ४ गते प्रदेश तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ ।