काँग्रेस दार्चुलाका पूर्व सभापति चन्द काँग्रेस (विपी) मा लागे
धनगढीः नेपाली काँग्रेस दार्चुलाका पूर्व सभापति मानबहादर चन्द नेपाली काँग्रेस (विपी) मा प्रवेश गरेका छन्। बुधबार नेपाली काँग्रेस (विपी) का बरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली काँग्रेस विपी जिल्ला कार्य समितिको पार्टी कार्यालय किसुन जी भवनमा पुगेका थिए। चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेका थिए। २०३६ सालमा नेपाली काँग्रेसमा सक्रिय भइ बहुदलको प्रचारप्रसारमा लागेका थिए। उनी २०४६ सालको जनआन्दोलमा जेल समेत परेका थिए।
२०४७ सालमा दार्चुलामा नेपाली काँग्रेसको संगठन बिस्तार गरि जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधि सभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग छिनो मतान्तरले पराजित भएका थिए। प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा नेपाली काँग्रेस प्रजातान्त्रिक दार्चुला सभापति समेत भएका थिए। तर, नेपाली काँग्रेसको विचलन तथा कार्यशैली प्रति असहमत रहँदै पछिल्लो समय उनी निष्क्रिय बनेका थिए।