सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती आयोजना भारतीय कम्पनीले पायो

२०७९ साउन २३, ०८:४१ खबर संवाददाता

काठमाडौँः लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ। बोर्डले गत २३ जेठमा यसका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
बोर्डको सोमबार बसेको बैठकले भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई अध्ययन अनुमतिपत्र प्रदान गर्नेसम्बनधी समझदारीपत्रलाई स्वीकृत गरेको हो। 

चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिन सरकारले गत चैतबाटै गृहकार्य गरिरहेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावअघि डडेल्धुराको सदरमुकाममा आयोजित चुनावी सभामा नै यो विषय खुलासा गरेका थिए। ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि भारतसँग कुरा भइरहेको उनको भनाइ थियो। उनले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतीय कम्पनी नै ल्याउनुपर्ने प्रष्टीकरण दिएका थिए।

अष्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले बनाउन नसकेको आयोजना भारतीय सरकारी कम्पनीले बनाउने आधार देखिएकाले यस्तो निर्णय गरेको बोर्डले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस