सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्धनको मूल्यवृद्धिले किसानलाई पिरलो 

२०७९ असार ८, १२:२८ नारायण अवस्थी

धनगढी: इन्धनको मूल्य बढ्दा कैलाली र कञ्चनपुरका किसान मर्कामा परेका छन्। रोपाइँ गर्ने समयमा डिजेलमा भएको मूल्यवृद्धिले आम्दानीभन्दा लागत दोब्बर लाग्ने किसानले बताएका छन्।  कृषिमा लागत बढ्न थालेको तर प्रतिफल भने हरेक वर्ष घट्दा खेतीपातीमा आकर्षण घटिरहेको किसानले बताएका छन्। 

समयमै पानी नपर्दा, कृषि मलको चरम अभाव र सिँचाइ  सुविधा नहुँदा खेतीपातीमा उब्जनीभन्दा खर्च बढी हुने गरेको धनगढीका किसान बुन्दीलाल रानाले बताए। ‘यो वर्ष अहिलेसम्म पानी नपर्दा रोपाइँ गर्न निकै समस्या भएको छ,’ उनले भने, ‘पम्पसेट चलाउन पनि डिजेलको मूल्य दोब्बर भएको छ, भने मल पाउने कुनै सम्भावना नै छैन।’ 

सुदूरपश्चिममा यो वर्ष असारको पहिलो हप्तासम्म मनसुनी वर्षा हुन सकेको छैन। रोपाइँ गर्न कि पानी पर्नुपर्ने कि त सहज सिँचाइको सुविधा हुनपर्नेमा किसानसँग यी दुवै विकल्प नहुँदा समस्या थपिएको छ। सुदूरपश्चिमकको अन्न भण्डारका रुपमा चिनिएका दुई जिल्ला कैलाली र कञ्चनपुरका किसान यो वर्ष डिजेलको मूल्य बढ्दा थप चिन्तित भएका छन्।

इन्धनमा भएको मूल्य वृद्धिले खेतीपातीमा लागत दोब्बर बढेको कैलालीको कैलारी गाउँपालिका वडा नम्बर २ का किसान मोहन चौधरीले बताए। ‘डिजेलको मूल्य बढ्दा पम्पसेट चलाउन नसकिने भएको छ,’ उनले भने, ‘मल पनि नपाउने, पानी तान्न पनि दोब्बर खर्च लाग्दा हामीलाई चिन्ता लागेको छ।’

सिँचाइ गर्न नहरको व्यवस्था नहुँदा कैलाली र कञ्चनपुरमा किसानले पम्पसेटको चलाउनु पर्छ। पम्पसेट चलाउदा डिजेल खपत हुने र डिजेलको मूल्य प्रति लिटर १ सय ९२ पुग्दा इन्धनमा विगतभन्दा दोब्बर खर्च हुने भन्दै किसान चिन्तित भएका छन्। महङ्गो डिजेल पनि पाउन नसक्दा थप सास्ती भोग्नु परेको र दुःख गरि उब्जाएको कृषि उपजको मूल्य नपाउने समस्या हुँदा धान खेती गर्ने क्षेत्रफल घटाएको जोशीपुर गाउँपालिका वडा नम्बर ४ का किसान ठगुप्रसाद चौधरी बताउँछन्। ‘पहिले अधिँया गरेर ६ विघामा धान खेती गर्थे। यो वर्ष ३ विघामा मात्रै रोपाइँ गर्दै छु,’ उनले भने, ‘धान लगाउनै मुस्किल हुन्छ। लगाएपछि बिक्री गर्दा मूल्य नपाउने समस्या छ।’

सिँचाइ सुविधा र कृषि मलको अभावले खेतीपातीबाट लागत मूल्यको अनुपातमा आम्दानी कम हुन चिन्ता किसानको छ। इन्धनमा भएको मूल्य वृद्धि र मलखादको अभावले किसानले खेतीपातीमा लगानी बढेको बताएका छन्। खेतीपातीबाट नाफा भन्दा पनि सोझै घाटा हुने अवस्था आएको कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का किसान सुरेन्द्र चौधरीले बताए। ‘खेतीपातीबाट किसानले लागत मूल्य पनि उठाउन सक्दैनन्। मल, बिउ र सिँचाइमा किसानले सहुलियत पाउनु पर्यो’ उनले भने। 

सुदूरपश्चिममा खेतीयोग्य जमिनमध्ये ३३ प्रतिशत क्षेत्रफलमा पूर्ण र २० प्रतिशत क्षेत्रफलमा आँशिक सिँचाइ हुने गरेको सरकारी तथ्याङ्क छ। बाँकी ४७ प्रतिशत खेतीयोग्य जग्गामा सिँचाइ गर्न आकाशे पानीको भर पर्नुपर्छ। यो वर्ष इन्धनको मूल्य वृद्धि र मल अभावसँगै मनसुन वर्षाको अभावले अहिलेसम्म रोपाइँ हुन सकेको छैन। जसको असर धान उत्पादन र समग्र कृषि प्रणालीमा पर्ने चिन्ता गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस