सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा निर्माणाधिन सडकको क्षेत्राधिकार खाली नहुँदा समस्या

२०७८ चैत्र १५, ०४:४६ खबर संवाददाता

धनगढीः संघीय सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रममार्फत कैलालीको गोदावरीमा निर्माणाधिन १६ किलोमिटर सडकको क्षेत्राधिकार खाली गर्न ढिलाई भएको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा लागू भएको उक्त कार्यक्रम अन्तर्गतका अधिकांश सडकको क्षेत्राधिकारी खाली भएको छैन। सोही कारण सडक निर्माण तथा कालोपत्रेको काम प्रभावित हुने देखिएको छ। 

गेटा आँखा अस्पतालदेखि जोनापुरसम्मको साढे ५ किलोमिटर सडकको २ किलोमिटर क्षेत्र कालोपत्रेको तयारी थालिएको छ। तर गेटा आँखा अस्पताल क्षेत्रमा रहेका टहराहरु अझै खाली भएका छैनन्। क्षेत्रीय सहरी विकासका सडकहरुको क्षेत्र खाली गर्ने दायित्व स्थानीय तहहरुको हो। तर दुई वर्षमा सडक निर्माणको काम पूरा गर्न सम्झौता गरिएको सडकमा रहेका संरचनाहरु अझै खाली भएका छैनन्। 

क्षेत्रीय सहरी विकास आयोजना धनगढीका प्रमुख प्रविन शाहले गेटा आँखा अस्पताल क्षेत्रका टहराहरु नगरपालिकाले खाली नगराएको बताए। सडकमा पर्ने कत्था उद्योगका संरचनाहरु पनि खाली नभएको उनले बताए। अन्य निजी संरचनाहरु पनि सडक क्षेत्रका हटाउन बाँकी रहेका छन्। 

सडकमा पर्ने भौतिक संरचना खाली नभएको कारण सडक निर्माणको काम प्रभावित हुने देखिएको हो। सडकमा रहेका संरचनाहरु खाली नभएकाले २ किलोमिटर क्षेत्रमा मात्र कालोपत्रे गर्न थालिएको निर्माणको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलले बताए। उनका अनुसार एक हप्ताभित्र २ किलोमिटर सडक कालोपत्रे गरिने छ। 

गोदावरी नगरपालिका क्षेत्रमा साढे ५ किलोमिटरको गेटा आँखा अस्पताल–जोनापुर सडक, १६ सय मिटरको लालपुर–गौडी सडक, साढे ५ किलोमिटरको गेटा–लालपुर सडक, १९ सय मिटरको चौकीडाँडा–चक्लाखेत सडक, १७ सय मिटरको कत्था उद्योग–जोनापुर सडक र ४३० मिटरको सिर्जनानगर सडकमा नाली निर्माण, ग्राभेल तथा बेस, सव–बेसको काम जारी रहेको क्षेत्रीय सहरी विकास आयोजना धनगढीका प्रमुख शाहले बताए। ‘केही ठाउँमा रुखहरु पनि छन्। सडक क्षेत्रमा संरचनाहरु पनि छन्। संरचना खाली गराउन नगरपालिकालाई भनेका छांै। रुखका लागि वनलाई भनेका छौ,’ उनले भने।

क्षेत्रीय सहरी विकास आयोजनामार्फत ५५ करोड बढीमा साढे १६ किलोमिटर सडक नालीसहित निर्माणका लागि गत वर्षको साउनमा कालिका कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो। 


 

कमेन्ट लोड गर्नुस