सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हिरोइनसहित पाँच जना पक्राउ

२०८३ असोज ५, ०९:३५ खबर संवाददाता

धनगढी:  कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हिरोइन सहित पाँच जना पक्राउ परेका छन्।

जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित जोशीपुर गाउँपालिका–३ बस्ने ४८ वर्षीय प्रमेश्वर डगौरा थारू पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागी चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो।

यसैगरी, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बसन्त टोल बस्ने २१ वर्षीय असिम चौधरीसमेत चार जना रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागी चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस