सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका फलामखानी अलपत्र, सम्भावना हुँदाहुँदै उत्खनन हुन सकेनन्

२०८३ असोज ४, ०४:४२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा प्रचुर सम्भावना बोकेका तीन वटा फलामखानी उत्खनन हुन नसक्दा थन्किएका छन् ।

उत्खननको पर्खाइमा रहेको सिगास गाउँपालिका–१, सुगरखालस्थित बल्लेकानामा फलामखानी पत्ता लागे पनि उत्खनन हुन सकेको छैन । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्रालिले प्रारम्भिक खोज तथा भौगर्भिक परीक्षणका क्रममा उच्च सम्भावनासहितको फलाम भण्डार फेला पारे पनि उत्खननको काम अघि बढ्न नसकेको हो ।

परीक्षणका क्रममा त्यहाँ ३८ प्रतिशतसम्म ‘म्याग्नाइट आइरन’ पाइएको छ, जसबाट निस्कने ‘म्याग्नाइट ओर’ आधुनिक स्टिल र सिमेन्ट उद्योगका लागि निकै महत्वपूर्ण कच्चा पदार्थ मानिन्छ तर सम्भावना उच्च भए पनि खानी उत्खनन हुन नसकेको सिगास गाउँपालिका–१, का वडाध्यक्ष रामचन्द्र ऐरीले बताए।

खोज अनुसन्धान गर्ने कम्पनीका मानिस पनि पछिल्लो समय सम्पर्कमा नआएको उनले बताए। “खानीक्षेत्र सामुदायिक वनक्षेत्रभित्र पर्ने भएकाले वन तथा वातावरण मन्त्रालयबाट जग्गा प्रयोगसम्बन्धी सहजीकरण नहुँदा थप प्रक्रिया अगाडि बढ्न नसकेको बुभिएको छ । पछिल्लो समय कम्पनीका प्रतिनिधि पनि वडा कार्यालयको सम्पर्कमा आएका छैनन्,” उनले भने।

स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच खानीसम्म पुग्ने पहुँचमार्ग निर्माण तथा विद्युतीकरणका लागि प्रभावकारी बजेट विनियोजन र ठोस समन्वय हुन सकेको वडाध्यक्ष ऐरीले बताए।  जिल्लाको पुरचौडी नगरपालिका र मेलौली नगरपालिका रहेका फलामखानीको पनि अवस्था उस्तै छ । कुनै समय उच्च गुणस्तरको फलाम पाइने पुरचौडी नगरपालिका–मल्लादेहीस्थित कालीढुङ्गा क्षेत्र अहिले पूर्ण रूपमा उपेक्षित छ । 

यहाँ विगतमा फलाम निकाल्न खनिएका झन्डै चार सयभन्दा बढी ऐतिहासिक खाडल यत्रतत्र देख्न सकिन्छ । खानी बन्द भएपछि स्थानीयले ती २० मिटरसम्म गहिरा खाडललाई मरेका पशुचौपाया र फोहोर फाल्ने डम्पिङ साइटका रूपमा प्रयोग गर्न थालेका छन् ।

स्थानीय बासिन्दा हरिस साउद विगत सम्झिँदै भन्छन्, “खानी चल्दा यहाँ सयौँले गाउँमै रोजगारी पाएका थिए । कसैले फलाम खन्ने, कसैले प्रशोधन गर्ने त कसैले भाँडावर्तन तथा कृषि औजार बनाउने गर्थे तर अहिले त्यो सबै इतिहास बन्यो, खानी बन्द भएपछि युवा रोजगारीका लागि भारत तथा खाडी मुलुक जान बाध्य छन् ।” -गाेरखापत्रबाट   

कमेन्ट लोड गर्नुस