मेरो टोपी : कहिले झुक्न नजान्ने, लुक्न नमान्ने
मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने
गोपाल योञ्जनको यो गीतले भने झै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य बासुदेव पाण्डेयलाई पनि ढाका टोपी पहिरीएपछि छाती चौडा भएको अनुभुती हुन्छ। टोपी सौन्दर्यको साधन मात्र होईन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महशुस हुने गरेको छ। टोपी लगाउन बिर्सेको दिन त हुँदैन तर कहिले काँही टोपी लगाउन बिर्सीदा भने पाण्डेयलाई ठुलै कुरा बिर्सीएछु जस्तो लाग्छ। पाण्डेयका अनुसार नेपालमा क्षेत्रगत रुवपा फरक–फरक किसिमका टोपी लगाउने गरिएको छ र ति सबै टोपीहरुको आ–आफ्नै विशेषता रहेको छ। त्यस्मा पनि ढाका टोपी र भादगाउँले टोपीको महत्व अझै बढि छ। उनले टोपीकै बारेमा कवितामा यस्तो भने,
टोपी हो शिरपोश राष्ट्र गरिमा, सौन्दर्यको साधन
हाम्रा उच्च हिमाल झै छ, चुचुरो मातृत्वको पावन
साथै लालीगुरास अन्य प्रकती, स्थानीको भेद छ
हाम्रो यो शिर निम्ती रक्षक हुने, टोपी सुसंकेत छ
पाण्डेय जस्तै कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्वर ६ का द्धिजराज भट्टलाई पनि ढाका टोपी नलगाएको दिन आफ्नो सान गुमेजस्तो अनुभुती हुन्छ। भट्टलाई टोपी नलगाएरै घरबाहिर सम्म निस्कीएको सम्झना छैन्। त्यसैले पनि होला भट्टले बृद्ध अवस्थामा समेत दिनहु शिरमा नेपाली टोपी ढल्काएर नेपालीपनको पहिचान दिईरहेका छन्। शिरको टोपी नेपाली सान मात्रै होईन, स्वास्थ्यका लागी पनि हितकारी भएको भट्टको दावी छ। ढाका टोपीलाई नेपालको चिनारीका रुपमा लिइनुका अनेक कारणहरु छन्। जंगबहादुर राणाका पालामा उनकी बहिनी डम्बरकुमारी राणाले आफ्नो दाजुलाई खुशी पार्नका लागि यो टोपी बनाएर उपहार दिएको ईतीहास छ। यो टोपीलाई न मौसम अनुसार लगाईन्छ न त कुनै अवसर विशेष पारेर लगाईन्छ। भारी बोक्नलाई होस् अथवा औपचारिक कार्यक्रममा होस यो टोपी नेपालीको शिरमा सजिएको हुन्छ। टोपीले आम विश्व समुदायमाझ नेपालीको चिनारी बोक्ने भएकाले यस्को महत्व बढाउनका लागी युवाहरु पनि जुट्न थालेका छन्।
हुन त जातीय राजनीति गर्ने दलहरुले अहिले पहिचानका धेरै बहसहरु बाहिर ल्याएका छन तर नेपाली टोपीले, तराईका यादव समुदायदेखि हिमालका भोटे समुदायको प्रतिनिधित्व गर्छ भन्ने कुराको हेक्का राखिएको छैन्। क्षेत्री, बाहुन, नेवार, तामाङ, राई, लिम्बु, यादव सबैले लगाउने भएकाले यो टोपी बहुजातीय पहिरन बनेको छ तर युवाहरु भने नेपाली टोपीलाई दिवसको दिनमा मात्रै पहिरिने गरेका छन्। तर टोपीको प्रयोग हराउदै गएपछि यस्को प्रचारमा केहि युवा युवतीहरु भने सक्रिय हुन थालेका छन्। धनगढीमा दारी ग्याङले यो बर्ष पनि टोपी दिवस मनाएको छ। टोपी दिवसमा युवतीहरुको पनि सहभागिता रहेकाले उनीहरु राष्ट्रिय पहिचानका रुपमा रहेको टोपीलाई जोगाईराख्न जिम्मेवार छन् भन्ने देखाएको छ। तर सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि उनीहरुमा पनि चिन्ता बढेको छ। नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि विभिन्न क्षेत्रबाट दवाव दिने कार्यक्रम भने जारी छ।
हिन्दु समाजमा पूजापाठ गर्दा, किरीयापछि निस्कदा, बिवाह ब्रतबन्ध, तिहारमा टोपी छुटाउने चलन छैन भने बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला टोपीलाई दौरा सुरुवालसँगै राखेर राष्ट्रिय पोशाकबाट पनि हटाईएको थियो। तर त्यस्को विरोध हुदै आएको छ। केहि बर्ष अघि सम्म नेपालको नागरीकतामा टोपी लगाएको फोटो अनिवार्य हुनुले पनि नेपालीहरुमाँझ टोपीको महत्व दर्साउथ्यो तर आजभोली त्यस्तो नभएकाले नेपाली टोपीको महत्व घट्दै गएको भान हुन थालेको छ। टोपी नेपालीको मौलिक सम्पत्ति भएकाले सम्मानमा साथ जर्गेना गर्न पछिल्लो पुस्तामा टोपी लगाउने प्रचलन अझै बढाउन आवश्यक रहेको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराको तर्क छ।