सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकी कुस्ती च्याम्पियन शिवांगीप्रति राज्यकाे यस्तो दुर्व्यवहार, भारतबाट अफरै अफर

२०७८ मंसिर २०, ०५:२९ विन्दु चन्द

धनगढीः कञ्चनपुरकी खेलाडी शिवांगी दुबे खेल क्षेत्रमा ठूलो संघर्ष गरिरहेकी छिन्। बालापन देखि नै उनी कुस्ती खेलमा उदायमान छिन्। उनको कुस्तीमै ओलम्पिक जित्ने लक्ष्य छ। तर विडम्बना, नागरिकता नहुँदा उनको त्यो सपना अधुरै छ।  नागरिकता नहुँदा देश बाहिरका प्रतियोगितमा सहभागी हुन समस्या भइरहेको उनले बताइन्। नागरिकता बनाउन परिवारसहित उनी ढाई वषदेखि भौँतारिरहेका छन्। तर त्यो प्रयास अझै असफल भइरहेको छ। 

उनले सुदूरपश्चिमबाटै राष्ट्रिय खेलमा ७ स्वर्ण र साफ च्याम्पियनमा एउटा रजत पदक जितेकी छन्। ‘नेपालबाट त सुदूरपश्चिमको मात्रै समूह छ, कुस्तीमा, नेपालमा धेरैलाई थाहा पनि छैन यस खेलको बारेमा। सुदूरपश्चिमबाट जति पनि खेलमा सहभागी भयौँ ती सबैमा प्रथम नै आएका छौँ।’

उक्त खेलमा टिकिरहने रहने उनी बताउँछन्। ‘यो खेल मलाई धेरै मनपर्छ। धेरैलाई थाहा पनि छैन यो खेलबारे। म यस खेललाई सुदूरपश्चिमबाटै चिनाउन चाहन्छु’ उनले भनिन्। उनको ओलम्पिकमा गोल्ड मेडल जित्ने लक्ष्य छ। ‘म धेरै संघर्ष गरिरहेकी छुँ। मलाई ओलम्पिक जित्ने चाहना छ। अन्तर्राष्ट्रिय खेल खेल्न ठूलो रुची छ’ उनले भनिन्। तर नागरिकता नभएकै कारण आफु अन्तर्राष्ट्रिय खेलबाट वञ्चित भइरहेको शिवांगीले बताइन्। उनी भन्छिन् ‘म सँगका साथीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालिसके। जागिर पनि खाइसके। तर नागरिकता नभएकै कारण म पछि परेको छु।’

एक भारतीय बुवाको छोरी भएकै कारण उनले नागरिकता पाइरहेकी छैनिन्। विसं २०५६ सालमा आमाले भारतीय नागरिकसँग बिहे गरेका कारण उनले नागरिकता नपाइएको बताइन्। डडेल्धुरा घर भएकी उनकी आमा राधिका रोकाले भारतका कुस्ती खेलाडी राजु दुबेसँग विवाह गरेकी थिइन्। राजु दुबे पनि सानैदेखि आमा बुवासँगै नेपालमा बस्दै आएका छन्। उनले पनि नेपालबाटै राष्ट्रिय खेलमा गोल्ड मेडल जितेका छन्। उनलाई पनि नेपाली नागरिकता नभएकै कारण खेल क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था आयो। राजु भन्छन्, ‘म पनि यहिँ जन्मेको हुँ। नेपालबाटै कुस्तीमा धेरै गोल्ड मेडल जितेको छुँ। अन्तर्राष्ट्रिय खेल्ने मेरो पनि चाहना हो। तर नागरिकता नहुँदा छोड्नुपर्ने बाध्यता आयो।’

आफु पलायन भएपछि खेललाई चिनाउनुपर्छ भन्ने उदेश्यले उनले आफ्नो छोरी शिवांगीलाई कुस्ती सिकाउन थाले। उनी भन्छन्, ‘मैले आफ्नो सपना पुरा गर्न सकेन। तर छोरीले मेरो सपना पुरा गर्नसक्छे भनेर जम्मै लगानी र मेहनत छोरीमा लगाइसकेको छु।’ विगत ७ वर्षदेखि उनी छोरी शिवांगीलाई तालिम दिइरहेका छन्। आफुले सो खेल छाडेपछि परिवारको घर खर्चसँगै छोरीको खेल क्षेत्रलाई पनि प्राथमिकता दिइरहेका राजुले बताए।  कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनी बस्दै आएका दुबे परिवार महेन्द्रनगरमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन्।

वंशजको आधारमा नागरिकता नभइ अङ्गीकृत नागरिकता उपलब्ध गराइदिन माग गर्दै ढाइ वर्षदेखि भौतारिरहेको शिवांगीकी आमा राधिका रोका बताउँछिन्। ‘आमाको नागरिकताले पनि छोराछोरीले नागरिकता पाउनु पर्ने हो। म नेपाली नागरिक हुँ। हामीलाई वंशजको नागरिकता चाहिँदैन्। अङ्गीकृत नागरिकता भए पुग्छ’ उनले भनिन्। उनले शिवांगी आफ्नो मात्रै नभएर देशको छोरी रहेको बताइन्। छोरीलाई यसै खेलको माध्यमबाट चिनाउने चाहाना उनको छ।

तर नागरिकता नभएकै कारणले विश्व च्याम्पियन खेल छुटेको उनी बताउँछिन्। ‘भारतीय नागरिकसंँग बिहे गर्नु नै मेरो गल्ती हो र ?’ राधिकाले प्रश्न गर्दै भनिन्, ‘हामी नेपाल मै बस्छाैँ। हामी नेपाली नै हौँ। छोराछोरी पनि भोलि नेपालमै बस्ने हुन्। उनी देशकी खेलाडी हुन् तर राज्यले यो किन बुझिरहेको छैन ?’ नागरिकता नभएकै कारण खेल क्षेत्रप्रतिको लगाव टुटिरहेको समेत उनले दुखेसो गरिन्। 

भारतबाट अफर 
अन्तर्राष्ट्रिय खेल खेल्न भारतबाट अफर आएको शिवांगी बताउँछिन्। तर उनको नेपालबाटै ओलम्पिक जित्ने चाहना छ। ‘नेपालमा नागरिकता नपाइरहे भारतबाट खेल, सबै सहयोग र खेलका लागि आवश्यक पर्ने सबै कागजपत्र उपलब्ध गराउने भनेर अफर आउँदै छ। तर म नेपाली हुँ। नेपाललाई यस खेलबाट पनि चिनाउँछु भन्ने मेरो लक्ष्य छ। म भारत जान्न’ उनले भनिन्।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस