विद्यालयकै योजनामा यसरी गरिँदैछ बालबालिकाको आस्थामाथि प्रहार
कैलालीमा झोला र चकलेट वितरण गर्दै इसाईको प्रचार
धनगढीः कैलालीको लम्की क्षेत्रका विद्यालयमा खेल सामग्री र झोला वितरण गर्ने भन्दै इसाईको प्रचार हुने गरेको पाइएको छ।
विद्यालयहरूको अनुरोधमै बाइबल र यसुको बारेमा प्रवचन हुने गरेको पाइएको हो। लम्कीचुहा नगरपालिका क्षेत्रका विद्यालयहरूमा विद्यालयका प्रधानाध्यापककै योजनामा बालबालिकाको आस्था परिवर्तन गराउने प्रयास हुने गरेको छ। स्थानीय पास्टर जन्मजय भट्टराईले विद्यालयमै पुगेर बालबालिकाहरूलाई प्रवचन दिँदै आएका छन्। संविधानले धर्म परिवर्तन गराउन बन्देज लगाएको भए पनि पूर्वी कैलालीमा भने यस्तो काम हुँदै आएको छ।
इसाई समूहलाई जिद्यालयकै आमन्त्रण
लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा विद्यालय प्रयोग गरेर इसाई रिलिजनको प्रचारप्रसारमा तीव्रता दिइएको तथ्य सार्वजनिक भएको छ। खेल सामग्री, झोला, टिसर्ट र चकलेट वितरण गर्ने भन्दै मिसनरीका मानिसहरूले कलिला बालबालिकालाई इसाईमा लाग्न प्रेरित गर्ने गरेका छन्। लम्कीका हरेक सामुदायिक विद्यालयमा चकलेट र मिठाइ बाढ्ने बाहनामा बालबालिकाको परम्परागत आस्थामाथि प्रहार भइरहेको छ।
लम्की क्षेत्रमा इसाई मत फैलाउन आक्रमक रुपले लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराईको समूह लागेको पाइएको छ। उनले चकलेट र खेल सामग्री वितरण गर्दै बाइबल र यसुको प्रचार गर्दै आएका छन्। विद्यालयकै आग्रहमा पास्टर भट्टराईको समूह विद्यालयमा आएर खेल सामग्री र चकलेट वितरण गरेर गएको लम्कीचुहा–५ मा रहेको जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रण भण्डारीले बताए।
उनले क्रिसमसको अवसरमा उपहार बाढ्न आफूले पास्टर भट्टराईलाई बोलाएको बताए। ‘चर्चले हामीलाई गत वर्ष पनि क्रिसमसको अवसरमा खेल सामग्री उपहार दिएको थियो। यो वर्ष पनि उपहार छ कि भनेर हामीले नै उहाँहरूलाई विद्यालयमा बोलाएका हौँ,’ उनले भने, ‘यो वर्ष उहाँले दुई भलिबल, तीन फुटबल, दुई नेट, दुईटा क्रिकेट, दुई सेट ब्याडमिन्टन दिनुभएको हो। उहाँले केही पनि भन्नु भएको छैन।’
उपहार दिने भन्दै झुक्याएर बाइबलको प्रचार
लम्कीचुहा–१ को शहिद स्मृति माध्यमिक विद्यालयमा पास्टर भट्टराईले पुस ७ गते बाइबल र इसाई रिलिजनको विषयमा प्रवचन दिएका छन्। विद्यालयमा विपन्न बालबालिकालाई झोला वितरण गर्ने भन्दै आएका पास्टर भट्टराईले इसाई र बाइबलमाथि लामो प्रवचन दिएका छन्। आफूहरूलाई झुक्याएर पास्टर भट्टराईले बाइबलको प्रचार गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकालले बताए।
उनले पास्टर भट्टराईले लम्कीका अन्य विद्यालयमा पनि क्रिसमसको अवसर पारेर उपहार दिने गरेको बताए। ‘उपहार दिने भनेर विद्यालयमा मलाई पनि बोलाइएको थियो। अन्तिम पिरियडमा पास्टर भट्टराईले शुभकामना दिन्छु भनेर बोल्न थालेका हुन्,’ उनले भने, ’बाइबलको बारेमा बोल्न थालेपछि पछि मैले त्यो कुराको खण्डन पनि गरेको हुँ। हामीलाई झुक्याउने काम भएको हो।’
नेपालमा इसाई बिरोधी कानून छः पास्टर भट्टराई
पास्टर भट्टाराईको समूह इसाई रिलिजन प्रचार गर्न मोहन्याल गाउँपालिका–५ को त्रिवेणी माध्यमिक विद्यालयमा समेत पुगेको थियो। खेल सामग्री सहयोग गर्ने भन्दै विद्यालयमा पुगेका भट्टराईले बाइबलबारे बताउन थालेपछि विद्यार्थीहरूले बिरोध गर्दा उनले थप कुरा राख्न नपाएको विद्यालयले जनाएको छ।
पास्टर भट्टराईले लम्कीचुहा–१ को बालकल्याण विद्यालय, लम्कीचुहा–८ को जानकी आधारभूत विद्यालयसहितका सामुदायिक विद्यालयमा खुलेआम इसाई रिलिजन, बाइबल र यसुको प्रचार गरेका छन्। तिनै पास्टर भट्टराईले इसाई मत फैलाउन समस्या भएको तथा मुलुकमा इसाई बिरोधी कानून रहेको गुनासो गरेका छन्। उनले एक कार्यमक्रममा बोल्दै नेपालमा इसाई धर्म फैलाउन कानूनले बन्देज गरेको बताएका छन्। उनले भनेका छन्, ‘यो देशमा फाँसी लगाए पनि लगाओस्। जेलको कठघरामा राखे राखोस्।
इसाईलाई धर्म प्रचार गर्न बन्देज लगाइएको छ। के अब अधर्मको प्रचार गर्ने त?’ नेपालको संविधान २०७२ को धारा २६ मा ‘कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ’ भन्ने उल्लेख छ। तर लम्कीचुहा क्षेत्रका विद्यालयमा भने तीन चार वर्षदेखि खुलेआम धर्म परिवर्तन गराउने प्रयास भइरहेको स्थानीयको गुनासो छ।