सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझ

२०७८ मंसिर ९, ०२:२१ रासस

सोलुखुम्बु: हिमाली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ। सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौँ। बिहान–बेलुका मानिसलाई हिँड्डुल गर्न तथा पानी चलाउनका लागि निकै मुस्किल हुने गरेको छ भने माथिल्लो क्षेत्रका पानी नै बरफ बन्न थालेको छ। केही दिनपछि सल्लेरी क्षेत्रमा पनि पानी जम्ने गर्छ। अहिलेको चिसोका कारण बिहान–बेलुका मानिसको चहलपल निकै कम हुने गरेको भए पनि स्टार युथ क्लबको स्थापना दिवसका अवसरमा आयोजित साङ्गीतिक साँझले सोलुखुम्बुवासीलाई तताएको छ। मङ्सिर महिनाको चिसो मौसम भए पनि बुधबार राति १ बजेसम्म यहाँका स्थानीय नागरिक राष्ट्रिय तथा स्थानीय कलाकारसँग जिल्ला समन्वय समिति सल्लेरीको प्राङ्गणमा औधी रमाइरहेका थिए।

मञ्चमा कलाकारको प्रस्तुति थियो भने प्राङ्गणमा दर्शकको उस्तै जोशका साथ आ–आफ्नै प्रस्तुति रहेको थियो। यसले गर्दा पनि कार्यक्रमलाई थप रङ्गिन बनाएको थियो। राष्ट्रिय कलाकार शेरबहादुर गुरुङको जादुमय प्रस्तुतिलाई धेरै दर्शकले रुचाएका थिए। उनले प्रस्तुतिसँगै विभिन्न जादु देखाउँदा दर्शक आश्चर्यचकित बनेका थिए। उनले पानी सकिएको लोटाबाट पटकपटक पानी खन्याउने, लठ्ठीबाट छातालगायतको अन्य सामग्री बनाउने, कपडाको परिकारसँगै फोटो फ्रेमभित्रबाट चरा झिकेर उडाएका थिए।

यस्तै मोडल सिर्जना राईका नृत्यमा धेरै दर्शकले भिडियो खिच्दै आनन्द लिएका थिए। सोलुखुम्बु सोताङ घर भएकी उनी नृत्य अन्तिममा भए पनि उत्कृष्ट भएको दर्शकले प्रतिक्रिया दिए। कार्यक्रम उपस्थित दर्शकबाट कोरोना महामारीको त्रासले घरैमा बस्न बाध्य भएका आम नागरिकलाई मनोरञ्जनसमेत आवश्यक थियो भन्ने सन्देश पाइएको पावैका गोबिन्द राईले बताए। घरैमा बस्न बाध्य भएकै कारण दर्शकको उपस्थिति बाक्लिएको अनुमान गरिएको छ। करिब पाँच हजार बढी दर्शकले समन्वय समितिको प्राङ्गणदेखि वरिपरिको क्षेत्र भरिएको थियो।

कार्यक्रममा सांसद हेमकुमार राई शुरवीर, थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईलगायतको सहभागिता थियो। जिल्लामै पहिलोपटक रात्रिकालीन भलिबल खेल खेलाएको क्लबले साङ्गीतिक साँझमा पनि उल्लेखनीय दर्शक प्राप्त गरेको तेजबहादुर राईले बताए। क्लबका स्वयंसेवकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेका थिए भने सिसिक्यामेराबाट समेत निगरानी गरिएको क्लबका अध्यक्ष नाम्गेल शेर्पाले बताए। कार्यक्रममा आउने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बस्ने व्यवस्था गरिनु राम्रो पक्ष भएको सल्लेरीका पासाङ तामाङको भनाइ छ।

साङ्गीतिक साँझमा राष्ट्रिय कलाकार प्रताप दास, कैलाश कार्की, सुनिल कटुवाल, अस्मिता अधिकारी, पूर्ण राई, मनराज बाहिङ, कुमार प्रयास, सनकुमार तामाङ, सिर्जना राई, केशव कसुर, खगेन्द्र राई, विनोद विक्रम र सङ्गम राईको प्रस्तुति थियो। स्टार युथ क्लबले आफ्नो स्थापना दिवसका अवसरमा प्रदेश नं १ महिला तथा जिल्लाभित्रका स्थानीय तह सङ्घसंस्था समान राशि पुरुष भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझको आयोजना गरेको छ। भलिब प्रतियोगिताको आज फाइन खेल हुने भलिबलका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङले जानकारी दिए। महिलातर्फ झापा, खोटाङ र ओखलढुङ्गासहित सात र पुरुषतर्फ १३ समूहको सहभागिता थियो। 

कमेन्ट लोड गर्नुस