दोहोरी साँझबाट नेपाल आइडलको यात्रा तय गर्दा...
पुख्र्यौली घर अछाम भएपनि रवि ओडको जन्म कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ५ सिद्धार्थ टोलमा भयो। उनको जन्म हुँदा सम्म भारतमा गएर चौकीदारी गर्ने परिवारको पुख्र्यौली पेशा नै बनिसकेको थियो। बाजेले भारतका विभिन्न शहरमा चौकीदारी गरेपछि रविका वुवाको पेशा पनि त्यहि चौकीदारी बन्यो। परिवार र आफन्तले रविले पनि ठुलो भएपछि पुख्र्यौली पेशा बनेको चौकीदारीलाई नै अपनाउलान की भन्ने सोच बनाएका थिए। तर उनको सोच भने सुदूरपश्चिमको सान बन्नु थियो। त्यसैले पनि होला बाल्यकालदेखि नै आफु भित्र रहेको गायन कलालाई निखार्न थाले। स्कुल कार्यक्रममा गीत गाउँदा गाउँदै रविको गायनीमा सुधार आउँदै गयो र उनले त्यो कार्यलाई कलेजमा पनि निरन्तरता दिए।
घरको आर्थिक अवस्था कमजोर भएकाले उनले धनगढीमा रहेको पश्चिम सेती दोहोरी साँझमा गीत गाउन थाले। दोहोरी साझँको यात्रा ३ महिना मात्रै चल्यो र पछि दोहोरी साँझ नै बन्द भयो। त्यसपछि उनले मध्य पश्चिमका पहाडी जिल्लााहरुमा विभिन्न प्रस्तुती दिदै आफ्नो सांगीतिक यात्रा तय गर्न थाले।
सोही बेला अन्तराष्ट्रिय रियालीटी शो नेपाल आइयड सुरु भयो तर सुदूरपश्चिमभरी एउटा पनि स्थानमा त्यस्को अडिसन भएन। पहिलो नेपाल आयडल सकियो र दोश्रो नेपाल आइडलका लागि भने धनगढीमा अडिसन भयो। धनगढी अडिसनमा रविसंगै सयौँ सुदूरपश्चिमेली प्रतिभाहरुले सहभागिता जनाए तर रवि वाहेक सबैको नेपाल आइडलको यात्रा धेरै चाँडो रोकियो। प्रदेश ७ बाट नेपाल आइडलको स्टेजमा पुगेका सुदूरपश्चिमका अन्य सबै प्रतियोगी बाहिरिएका छन्। धनगढी अडिसनबाट उक्त रियालिटी सो मा सहभागीता जनाएका रवि भने उत्कृष्ट ६ सम्मको यात्रा गर्न सफल भईसकेका छन्। उत्कृष्ट ६ मा पुगिसकेपछि रवि भन्छन् ‘सुदूरपश्चिमेलीहरुको मायाँ पाएपछि दोश्रो नेपाल आइडल बन्न ठुलै समस्या छैन्।’ उत्कृष्ट ६ सम्मको यात्रा सुदूरपश्चिमेलीहरुकै मायाँले भएको हो।
उनको घर अत्यन्त सामान्य छ र वर्षातमा चुहिने समस्या छ। उनको घरले पनि उनको परिवारको आर्थिक अवस्थालाई दर्शाउछ। तर दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ भनेझै त्यहि झुपडीमै जन्मिएका रविले अहिले संसारभरिका नेपाली माझ सुदूरपश्चिमलाई चिनाईरहेका छन्।