सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ वर्षदेखि निर्माणाधिन बुढीतोला पार्क, जहाँ बर्सेनि लाखौँ खर्च हुन्छ, काम हुँदैन

२०७८ साउन ६, ०६:५५ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ र चुरे गाउँपालिका वडा नम्वर ५ को बीचमा पर्ने चुरे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ८ वर्षअघि पार्क निर्माणको पहल थालियो।

गोदावरी नगरपालिका वडा नम्बर ४ मा पर्ने बुढीतोला पिकनिक पार्क निर्माणका लागि पर्यटन बोर्डले ९/९  लाख गरी दूई पटक १८ लाख रुपैयाँ खर्च गरिसकेको छ। तर लगानीअनुसार पार्क निर्माणमा काम हुन नसकेको भन्दै स्थानीयले विरोध गर्न थालेका छन्। 

अचम्मको विषय त के छ भने अहिलेसम्म पार्क निर्माणमा भएको लगानीको विषयमा पदाधिकारी नै अनभिज्ञ देखिएका हुन्। बुढीतोला पिकनिक पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष राजबहादुर विष्टले यस वर्ष १० लाख रुपैयाँ प्राप्त भएको बताए। सो रकमबाट खानेपानी, शौचालय, भान्सा घर लगायत भौतिक संरचना निर्माण गरिएको उनको भनाई छ। यसअघि आएको बजेट विषयमा आफूलाई कुनै जानकारी नभएको र त्यसको लेखाजोखा समेत आफूसँग नभएको उनले जानकारी गराए। ‘पर्यटन बोर्डबाट रकम आउने गरेको सुनेका हौँ । तर के कति आउथ्यो थाहा भएन,’ अध्यक्ष विष्टले भने।

पिकनिक पार्क निर्माणका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत आर्थिक वर्ष २०७७÷७८ मा १० लाख बजेट विनियोजन गरेको थियो। विनियोजित रकममध्ये ९ लाख ५० हजार खर्च भइसकेको छ। यस्तै गोदावरी नगरपालिका वडा नम्वर ४ ले एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको बताएपनि उपभोक्ता समितिले भने नगरपालिकाबाट अहिलेसम्म कुनै प्रकारको बजेट प्राप्त नभएको दाबी गरेको छ। 

पार्क निर्माणमा अहिलेसम्म लाखौ रुपैयाँ खर्च भइसक्दा पनि लगानीअनुसारको काम भएको छैन्। गोदावरी नगरपालिकाकै पहलमा पार्क निर्माणको काम अघि बढेको र लगानी समेत गरिएको वडा नम्वर ४ का वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए। उनले नगरपालिकाबाट कुनै रकम प्राप्त नभएको विषय सहि नभएको दाबी गरे। ‘चुरे गाउँपालिका ५ र गोदावरी नगरपालिका ४ को बीचमा पर्ने बुढीतोला पार्कको विषयमा चुरेमा गाभ्ने वा गोदावरीमा भन्ने विषय केहि समयअघि विवाद बढेकाले आवश्यक काम हुन सकेको थिएन। तर अहिले त्यो विवाद समाधान भइसकेको छ,’ उनले भने। 

पार्क निर्माण उपभोक्ता समितिले भने नगरपालिकाबाट कुनै सहयोग नभएको दाबी गर्दै आएको छ। पर्यटन बोर्ड, सामाजिक विकास मन्त्रालयबाहेक कहिकतैबाट रकम उपलब्ध नभएको समितिको दाबी छ। पार्क निर्माणमा मत बाँझिएपछि निर्माणमा आर्थिक अनियमितता भएको स्थानीयको आंशका छ। 

तर वर्तमान उपभोक्ता समितिका पदाधिकारीले यसअघिका उपभोक्ता समितिका अध्यक्षले के कति खर्च गरे भन्ने विषयमा कुनै जानकारी नभएको बताएका छन्। बुढीतोला पिकनिक पार्क निर्माणस्थल अनुगमन समितिका सदस्य रविन्द्र रोकामगरले यसअघि पार्क निर्माणमा के कति खर्च भयो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ७÷८ वर्षदेखि निर्माणको काम भइरहेको बताउँदै उनले खर्चको विषयमा भने जानकारी नभएको बताए।

कमेन्ट लोड गर्नुस