सुदूर नेपाललाई विश्वसँग जोड्दै

भासु भिरमा २३ वर्ष बिताएका मनिराम

२०७८ साउन ६, १२:५३ विन्दु चन्द

धनगढीः कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मनिराम जैशी ४४ वर्षका भए। उनी विगत २३ वर्षदेखि सडकमा लेन्थवर्करको रुपमा काम गरिरहेका छन्। 

उनले चुरे पहाडको भिरालो र डर लाग्दो भासुभिर(एकदमै भिरालो अवस्थामा रहेको भासु भिर चर्चित छ)मा २३ वर्ष बिताएका छन्। सोही कार्यबाट ५ बालबच्चालाई पढाईरहेको उनले बताए। ‘होटलको खाना, होटलकै बसाई। परिवार धनगढीमा बस्छन्। लेन्थवर्करकै तलबले ५ बच्चा पढाइरहेको छुँ। यहि कामबाट तराईमा घर लगाए’ जैशीले भने।   

२०५४ सालमा उनले उक्त काम सुरु गरेका थिए। ‘त्यति बेला म २१ वर्षको थिए। एक महिनाको १५ सय तलब थियो’ उनले भने। 

लेन्थवर्करकै कामबाट घर खर्च चलाइरहेको उनी बताउँछन्। ‘आफु मात्रै कमाउने ६ जनाको परिवार छ। खेतीपाती केही छैन’ उनले भने, ‘नाली सफा गर्ने, सडकमा आएका ढुगांहरु उठाउने, झाडू लगाउने, पानी निकास गर्ने लगायतको  काम हुन्छ। हिउँदमा काम गर्न त सजिलो हुन्छ, बर्खायाममा भने अलि गाह्रो हुन्छ।’

पहाडी क्षेत्रमा काम गर्दा माथिबाट ढुंगा आउने तथा पहिरो खस्दा जोखिम मोलेर काम गर्नुपर्ने उनले बताए। ‘बर्खायाममा कुनै समय त राति पनि आउनुपर्छ’ उनले भने।

काम गर्ने बेलामा माथिबाट आएको पहिरोमा परि आफुसँगैका केही साथीहरु घाइते समेत भएको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिरो आउँछ।  मसँगै काम गर्ने २ जना साथीको त हात भाच्चिएको छ। खुट्टामा चोट लागेको छ।’ 

उनका अनुसार एक जनाको भागमा ३ किलोमिटरको जिम्मेवारी हुन्छ। त्यो क्षेत्रमा काम गर्दा रमाइलो लाग्ने गरेको उनले बताउँछन्।  हाँस्दै उनी भन्छन्, ‘मेरो जिन्दगी त सडकमै गइसक्यो। तैपनि खुसी छुँ। दिनभरी सडकमै हुन्छौँ। रमाइलो लाग्छ।’

तर आफूले काम सुरु गर्दा परिवार भने खुसी नभएको जैशीले बताए। ‘१५ सय मात्रै तलब। आमाबुवा पनि बुढा। कमाइ कतैबाट थिएन। बिहे पनि गर्नुपर्ने। परिवारको आर्थिक स्थिती पनि कमजोर नै थियो। आमाबुवाले भारत जाउ पैसा कमाउन भन्थे तर म त यसैमा लागे। केही समयको लागि भारत गए तर अहिले त सबै खुस नै छन्।’

१६ वर्षको उमेरमा आफु रोजगारीका लागि भारत गएको उनी सुनाउँछन्। रोजगारीका लागि भारतको सिम्ला पहाड गएको र त्यहाँ धेरै दुःख पाएको उनले मनिरामले बताए। 

उनी आफ्नो विगत सुनाउँदै भन्छन्, ‘दिनभरी भारी बोक्नुपथ्र्यो। कहिले काम पाइने कहिले नपाईने। दुःख पनि पाइयो। फेरि फर्केर घर आए। यता सडक विभागमा काम खुलेको छ भन्ने थाहा पाएर यतै काममा लागेँ। यहाँ दैनिक काम पनि गर्नुपर्ने पैसा पनि महिनामै आउने। आफ्नै घर नजिक पनि भयो।’

उनी पैसा ठुलो भनेर ज्यानै जोखिममा पारेर विदेश गइरहेका गाउँका युवाहरु प्रति भने चिन्तीत देखिन्छन्। ‘गाउँमै केही गरे थुप्रै सम्भावना छन्। तर धेरै जना त ज्यानै जोखीममा पारेर दुःख गरेर बाहिर गइरहेका हुन्छन्। चिन्ता लाग्छ।’

लेन्थवर्करलाई स्थायी बनाइदिनुपर्ने अपेक्षा
मनिराम अहिले करारमा काम गरिहेका छन्। सरकारले लेन्थवर्करको काम स्थायी बनाइदिए सहज हुने उनको अपेक्षा छ। ‘यो कामलाई सरकारले स्थायी बनाइदिए राम्रो हुने थियो’ उनले भने, ‘अर्थात हामीले यो काम गर्न नसकेपछि पुस्तालाई स्थानान्तरण गरिदिए सहज हुनेथियो। उनीहरुले पनि स्वदेशमै रोजगारी पाउँथे।’ 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस