भीम रावलको घोषणाः ‘पहिले मातृभूमि जागरण, त्यसपछि नयाँ पार्टी’
धनगढीः पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने भएका छन्।
लामो समय एमालेको राजनीति गरेका रावलले गैरकम्युनिस्ट पार्टी बनाउने योजना बनाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राख्दै आएका रावलले २०७८ सालमा भएको दसौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। त्यसपछि कुनै जिम्मेवारीमा नरहेर नेता रावलले फरक मत राख्दै आएका थिए।
रावल देशभक्त समाजवादी पार्टी बनाउने सोचमा रहेको उनी निकटका नेताहरुले बताएका छन्। नयाँ पार्टी गठन गर्न लागेको चर्चाकाबचि रावलले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो आगामी राजनीतिक योजनाबारे स्पष्ट पार्ने आंकलन गरिए पनि उनको अभिव्यक्ति केपी ओलीप्रति बढी लक्षित देखिएको छ। पत्रकार सम्मेलनमा नेता रावलले ओलीले निरंकुश ढंगले सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएको बताएका छन्।
रावलले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने बताएका छन्। देशभक्तिपूर्ण बैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य भएकाले यसै दिशामा कदम अगाडि बढाउने उनले बताएका हुन्। नयाँ पार्टी गठनलगायत विषयमा छलफल भइरहेको उनी निकट नेताले बताएका छन्। रावलको नेतृत्वमा सबै विचार समूहका देशभक्त अटाउने पार्टी गठन हुने दाबी गरिएको छ।
रावलसँग भेट गरेका नेताहरूले भने पार्टी गठनको तयारीमा लागिसकेको तर्क छन्। सोमबार सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशी र अहिले बीपी कांग्रेसमा उपसभापति रहेका कांग्रेसका पूर्वसभापति कर्ण मल्लले रावलसँग भेटघाट गरेका थिए। पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी पार्टी सचिवालयले गरेको कारबाहीप्रति एमालेका केही नेताले असन्तुष्टि नै जनाएका छन्।
रावलका समर्थक मानिने एमाले केन्द्रीय सदस्य झपट रावलले भीम रावलमाथि गरिएको कारबाही आगामी केन्द्रीय कमिटीको बैठकबाट फिर्ता हुनुपर्ने बताएका छन्। एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले सामाजिक सञ्जालमा लेख्दै सबैका अनुभव र योग्यतालाई मिलाएर एक लयमा काम गर्दा मात्रै सही परिणाम निकाल्न सकिने बताएका छन्।