सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘टेलिमेडिसिन’ सेवा शुरु

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १, ०७:१२ रासस

बागलुङ : बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ सेवा शुरु भएको छ। बेलायतमा रहेका विभिन्न सङ्घसंस्था र अन्तरराष्ट्रिय बागलुङ समाजको सहयोगमा बागलुङ नगरपालिकाले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको हो
बागलुङ नगरपालिकामा रहेको नगरस्वास्थ्य शाखाबाट सेवा सुचारु गरिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । शुक्रबार नगरप्रमुख जनकराज पौडेलले ‘टेलिमेडिसिन’ सेवा शुभारम्भ गर्नुभएको छ।
तत्कालका लागि सदरमुकाममा खुलेको ‘टेलिमेडिसिन’ सेन्टर विस्तारै दुर्गम गाउँका स्वास्थ्य चौकीमा विस्तार गरिने पौडेलले बताउनुभयो । जटिल प्रकारका समस्या ‘टेलिमेडिसिन’का माध्यामबाट समाधान गरिने लक्ष रहेको प्रमुख प्रशसकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकलेसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन्। 

नगरपालिका, एनआरएन युके, स्वीनफेन च्यारिटेबल ट्रष्ट बेलायत, अन्तरराष्ट्रिय बागलुङ समाज र चार भञ्ज्याङ तमु समाज बेलायतको संयुक्त सहकार्यमा नगरपालिकामा ‘टेलिमेडिसिन’ सेवा सुरु भएको हो। अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले भने “कागजात पेश भएको एक घण्टामा चिकित्सकले सल्लाह, निदानको उपाय र औषधिको विषयमा जानकारी गराउनुहुन्छ।”

वर्षको एक पटक चिकित्सकले बिरामीको प्रत्यक्ष जाँच र रोगको खोजपड्ताल गर्ने उनले बताए। पर्वतको फलेवास नगरपालिकामा सञ्चालनमा रहेको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको भन्दै सोही नक्कल गर्दै बागलुङमा सेवा थालिएको हो।  
कार्यक्रम प्रभावकारी भएमा जिल्लाको ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकालगायतका स्थानसमेतमा ‘टेलिमेडिसिन’ शुरू गरिने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख कँडेलले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस