सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्न

२०७८ असार २६, ०९:०० रासस

काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ। 

सोही क्रममा शुक्रबार यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गरेका छन्। बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए। 

सकेसम्म समग्र पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरुबीच एकताका साथ अघि बढ्नुपर्ने प्रस्तावमा छलफल भएको र उक्त छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताए। बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु केसी, डा रामशरण महत, सुजाता कोइराला, डा शेखर कोइराला, बलबहादुर केसी सहभागी थिए। 

उनीहरुमध्ये नेताहरु केसीद्वय र डा महत बाहेक सबैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने सहमति हुन नसके अन्य नेताहरुले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्। कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ। यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।

कमेन्ट लोड गर्नुस