सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिभिजन वन कार्यालय बझाङले गर्यो विद्यालयमा वृक्षारोपण

२०८२ जेठ २२, ०५:५७ खबर संवाददाता

धनगढी : विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय बझाङले वृक्षारोपण गरेको छ।

प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व“ भन्ने मूल नाराका साथ जयपृथ्वी नगरपालिका–९ मा रहेको जालपा मावि परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको हो।

डिभिजन वन कार्यालय बझाङको आयोजना र जालपा माध्यमिक विद्यालय, देवलको समन्वयमा वृक्षारोपण गरिएको छ। विश्व वातावरण दिवसको अवसर पारेर पर्यावरणमा स्वच्छता बढाउन र विद्यार्थीहरूलाई वातावरण प्रति सजग बनाउने उद्देश्य साथ विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको हो।

विद्यालय परिसरमा कपुर, बेल, अमला, बरपिपल, रिठा, लप्सी, फूल लगाएत विभिन्न प्रकारका ७० वटा बिरुवाहरू रोपिनुका साथै विद्यालय परिसरमा सरसफाइ समेत गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भु तिवारीले बताए। डिभिजन वन कार्यालयका प्रमुख शम्भु तिवारीले वातावरण दिवसको ऐतिहासिक पृष्ठभूमि र यसको आवश्यकता स्पष्ट पार्दै प्रत्येक नागरिकले आफ्नो ठाउँबाट वृक्षारोपण तथा वातावरण संरक्षणमा योगदान दिनुपर्ने बताए। जथाभाबी बन फँडानी रोक्न र सार्वजनिक स्थान तथा घर वरिपरि हरियाली कायम राख्न उनले आह्वान गरेका छन्। बिरुवा रोप्न सजिलो तर, हुर्काउन अत्यन्तै गाह्रो हुने भएकाले आफ्ना बालबच्चा सरह नियमित हेरचाह गर्नुपर्नेमा जोड दिइएको छ।

वृक्षारोपण कालक्रममा नगर प्रमुख चेतराज बजाल, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, विद्यालयका शिक्षक–विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सक्रिय उपस्थिति रहेको थियो।

 

कमेन्ट लोड गर्नुस