धनगढीमा निःशुल्क मेकरस्पेस सञ्चालन, नयाँ प्रविधि सिक्नेदेखि उद्यम सुरु गर्नेसम्म अवसर
धनगढीः स्थानीय उद्यमशीलता प्रवर्द्धन, सीप विकास र हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाको कार्यालय परिसरमा मेकरस्पेस सञ्चालनमा ल्याइएको छ।
धनगढी उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा सञ्चालित ग्रीन ट्रान्जिसन पोर्टफोलियोअन्तर्गत मेकरस्पेस स्थापना गरिएको हो। यसलाई सिर्जनात्मक विचारलाई व्यवहारमा उतार्ने, नयाँ प्रविधि सिक्ने र उद्यमका लागि आवश्यक नमुना तयार गर्ने साझा कार्यस्थलका रूपमा विकास गरिएको छ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले मेकरस्पेस सबैका लागि निःशुल्क उपलब्ध हुने बताए। उनले विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै मेकरस्पेसको सदुपयोग गरी व्यावहारिक सीप सिक्न र आम्दानी गर्न सक्ने बन्न आग्रह गरे। विद्यार्थीले अध्ययनकै क्रममा सीप हासिल गरी आत्मनिर्भर बन्न सकून् भन्ने उद्देश्यले विद्यालय तथा कलेजका प्राध्यापकहरूलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको उनले बताए। हमालले विद्यार्थी तथा अन्य इच्छुक व्यक्तिलाई मेकरस्पेसको उपयोग गरी आफ्नो क्षमता विकास गर्न आग्रह गरे।
मेकरस्पेसका संयोजक महेश खतिवडाका अनुसार यसलाई नवप्रवर्तन केन्द्रका रूपमा स्थापना गरिएको हो। कुनै व्यक्तिसँग नयाँ विचार, सिर्जनात्मक कला वा उद्यम सञ्चालन गर्ने योजना भएमा मेकरस्पेसमा आएर त्यसको नमुना तयार गर्न सक्ने उनले बताए। फेसन डिजाइनिङ तथा कढाइदेखि रोबोटिक्स र इलेक्ट्रोनिक्ससम्मका सीप सिक्ने अवसर उपलब्ध रहेको उल्लेख गर्दै खतिवडाले मेकरस्पेस सबैका लागि खुला रहेको जानकारी दिए। नयाँ विचारलाई व्यवहारमा उतार्न, नमुना तयार गर्न र त्यसलाई उद्यमका रूपमा विकास गर्न यो कार्यस्थल उपयोगी हुने उनको भनाइ छ। उनका अनुसार तालिम तथा कार्यशाला सञ्चालन गर्न आवश्यक कक्षाकोठाको समेत व्यवस्था गरिएको छ। यसले सीपमूलक तालिम, प्राविधिक सिकाइ र सिर्जनात्मक गतिविधि सञ्चालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
मेकरस्पेसमा सिलाइकटाइ तथा कढाइ, इलेक्ट्रोनिक्स तथा रोबोटिक्स र काठसम्बन्धी सीप विकासका लागि तीनवटा प्रयोगशाला स्थापना गरिएका छन्। पहिलो प्रयोगशालामा सिलाइकटाइ, कढाइ तथा फेसन डिजाइनिङसम्बन्धी सीप सिक्न आवश्यक आधुनिक उपकरण राखिएका छन्। कम्प्युटरबाट सञ्चालित कढाइ मेसिन, भिनाइल कटर र हिट प्रेसलगायत उपकरणको सहायताले युवाले डिजाइन तथा कपडा सजावटसम्बन्धी व्यावहारिक सीप हासिल गर्न सक्नेछन्।
दोस्रो प्रयोगशाला इलेक्ट्रोनिक्स तथा प्रविधिसम्बन्धी सीप विकासमा केन्द्रित छ। यहाँ ड्रोन किट, अर्डुइनो बोर्ड, थ्रीडी डिजाइनका लागि कम्प्युटर, थ्रीडी प्रिन्टर, आरसी मेसिन, रोबोटिक डग, हट ग्लु गन, पेन्ट स्प्रे गन र सोल्डरिङ स्टेसनलगायत उपकरण राखिएका छन्। यी उपकरणको प्रयोगबाट युवाले इलेक्ट्रोनिक्स, रोबोटिक्स तथा प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न सक्नेछन्।
तेस्रो प्रयोगशाला काठका सामग्री निर्माण तथा काष्ठकलासम्बन्धी सीप विकासका लागि तयार गरिएको छ। यसले काठबाट विभिन्न सामग्री निर्माण गर्ने सीप सिक्न र सिर्जनात्मक विचारलाई उपयोगी उत्पादनमा रूपान्तरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
मेकरस्पेसमार्फत स्थानीय युवाको सीप विकास, नयाँ उत्पादनको नमुना निर्माण र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सन् २०२५ अप्रिलमा यूएनडीपी र धनगढी उपमहानगरपालिकाको सहकार्यमा अघि बढाइएको ग्रीन ट्रान्जिसन पोर्टफोलियोको उद्देश्य धनगढीलाई वातावरणमैत्री, जलवायु उत्थानशील र दिगो सहरका रूपमा विकास गर्नु हो। यस पहलले फोहोरलाई पुनः प्रयोग गरी आर्थिक स्रोतमा रूपान्तरण गर्ने, बाँस, माटो र केराको रेसाजस्ता वातावरणमैत्री वस्तुको उत्पादन तथा बजारीकरण बढाउने, हरित रोजगारी सिर्जना गर्ने र प्रकृतिमा आधारित पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ।