सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिद्धारा आत्म समर्पण

२०७८ असार २४, ०६:२९ रासस

कान्डला: दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। अदालतको मानहानी गरेको अभियोगमा उनलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ। प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गर्नु भएको जनाइएको छ। 

स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनी निकटका अधिकारीहरुले जानकारी दिएका छन्। उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन्।  

सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ बर्षिय जुमाका अझै पनि हजारौँ समर्थक रहेका छन्। उनी आफै आत्मसमर्पणका लागि गएको विषयलाई उनका समर्थकहरुले इमान्दारितापुर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन्। 

उनकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जादै गरेको र उहाँको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेखेकी छिन्। उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन्। -रासस/एपी

कमेन्ट लोड गर्नुस