बैतडीमा इण्डो–नेपाल मेला बिहीबारदेखि
बैतडीः बैतडीमा इण्डो–नेपाल अन्तरराष्ट्रिय मेला २०८२ को तयारी भएको छ।
मेला यही जेठ २२ देखि २६ गतेसम्म जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी तथा मेला व्यवस्थापन समितिका सदस्यसचिव राजेन्द्र विष्टले बताए।

नगरपालिकाको आयोजना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग तथा ग्वाल्लेक मिडिया ग्रुप प्रालिको व्यवस्थापनमा मेला सञ्चालनको तयारी भएको हो।

मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमै भारतको उत्तराखण्ड विधानसभा सदस्य विसनसिंह चुफालको पनि विशेष उपस्थिति रहने जनाइएको छ।

मेलामा नेपाल तथा भारतका कलाकारले प्रस्तुति रहनाका साथै नेपाल र भारतका व्यापारिक कक्ष रहने मेलाका व्यवस्थापक हेमबाबु लेखकले बताए। यसका साथै स्थानीय उत्पादनलाई पनि जोड दिँदै भारतबाट पनि विभिन्न व्यापारिक कक्ष रहन्छन्। उनले भने, ‘सुदूरपश्चिम प्रदेशभित्रका कलाकार र भारतको उत्तराखण्डका कलाकारले प्रस्तुति दिनेछन्, मेलामा दुवै देशका व्यापारिक कक्ष पनि रहनेछन।’ प्रवेश निःशुल्क राखिएको मेलामा स्थानीय कला, संस्कृति वेषभूषा र व्यापारलाई विशेष स्थान दिइने नगर प्रमुख पुष्करराज जोशीले बताए।
उनले भने, ‘स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन र नेपाली उत्पादन तथा सेवाहरूको राष्ट्रिय र अन्तरराष्ट्रिय बजार विस्तार गर्न मेलाको आयोजना गरेका हौँ, यसका साथै बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध कायम गर्ने पनि हाम्रो उद्देश्य रहेको छ।’ इण्डो–नेपाल मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।