सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कैलालीमा नाबालकको हत्या उनकै दिदी नाता पर्नेले गरेको देखियो’

२०७८ असार २४, ०३:०९ खबर संवाददाता

धनगढी : कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक बिष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ। उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई किशोरीलाई पक्राउ गरिएको जानकारी दिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको बताए।

‘प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको छ। दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन्। विवेकले लगाएको बाला ति युवतीको साथीसंग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ।’

प्रहरीका अनुसार ति किशोरीले पारिवारिक रिसिबीका कारण हत्याको योजना बनाएकी थिइन्। सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो। 

यस्तो छ हत्याको टाइमलाइन
२१ असार बिहान ११ बजे कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलिप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसंग जामुन खान गए। युवती मात्रै घर फर्किएपछि विवकेका बुवाले खोज तलासका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिए। घर फर्केकी किशोरीले रुखमा जामुन नभएको र भाइलाई घरतर्फ पठाएको तर जिद्धी गरेर आफन्तको घरमा जान्छु भनेको परिवारलाई जानकारी गराएकी थिइन्। ति किशोरीले आफू भने साथीको घरमा गएको बताएकी थिइन्। 

बालक बेपत्ता भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खोज तलासका लागि कुकुरको प्रयोग भएको थियो भने बिशेषज्ञ टोली पनि परिचालन गरिएको थियो। अनुसन्धानकै क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल पनि घटनास्थल पुगेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी पनि सोमबार राति नै टीकापुर पुगको थिए। अधिकारीको गृहनगर पनि टीकापुर हो। प्रहरी अनुसन्धानकै क्रममा बालक जमरा कुलोमा परेको सम्भावना बलियो देखिएपछि चिसापानीस्थित जमरा कुलोको आउने पानीको ढोका बन्द गरियो। 

२३ असार साँझ साढे ५ बजे बालक हराएको ठाउँबाट झण्डै ५ किलोमिटर टाँढा टीकापुर नगरपालिका–४ घोयली वनमा जमरा कुलोको किनारतर्फ विवकेको शव फेला प¥यो। जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार अनुसन्धानका क्रममा बालककी दिदीले प्रारम्भमा दिएको जानकारी विभिन्न तथ्यले गलत देखिएपछि शंका ति युवतीमाथि भएको हो। 

‘निजको सम्पूर्ण दैनिकी पहिल्याउने क्रममा निजले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ५ बस्ने साथीलाई घटना घटेकै दिन दुई वटा चाँदीको बाला राख्न दिएको खुल्न आएको र सो बालाहरु निज बालकको भएको परिवारजनले सनाखत गरेका थिए,’ जिल्ला प्रहरी कार्यालय कैलालीद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार अनुसन्धानको क्रममा पारिवारिक रिसिबीका कारण ति किशोरीले हत्याको योजना बनाएको समेत खुलेको छ। जमरा कुलोको डिलमा लगेर खुट्टामा लगाएको चाँदीको बाला निकाल्दै धक्का दिएर हत्या गरेको ति किशोरीले प्रहरीसमक्ष स्वीकारेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ति किशोरीकी १४ वर्षीया साथीलाई पनि पक्राउ गर्दै अनुसन्धान गरिरहेको जनाएको छ। 

 

 

 

 

कमेन्ट लोड गर्नुस