सुदूर नेपाललाई विश्वसँग जोड्दै

...अनि डोटेली भाषा अन्तर्राष्ट्रियकरण भयो

२०७८ असार २३, ०३:१८ खबर संवाददाता

धनगढी: डोटेली भाषाविद् आरडी प्रभास चटौतसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमा प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

भाषा प्रतिको यत्रो मोह कसरी बन्यो ? कसरी डोटेली भाषा अन्तर्राष्ट्रियकरण भयो ?
सुदूरपश्चिमको डडेल्धुरामा मेरो जन्म भएको थियो। अहिले उमेरको हिसाबले ८८ वर्षमा प्रवेश गर्दै छु। अब भाषाको विषयमा प्रवेश गरौं होला। करोडौं वर्ष पहिले जब सृष्टिको उत्पन्न भयो तब कुनै भाषा थिएनन् मात्रै सांकेतिक भाषाहरु थिए। भाषाको प्रारम्भ नै सांकेतिक भाषा हो। जस्तो अहिले पनि गौरा पर्वमा पानी माग्दा न बोली गरिने इसारा छन्। अर्को कुरा के छ भने संसारमा सांकेतिक भाषा सबैले एकै किसिमले बुझ्छन्। जस्तो ठिक छ भन्दा टाउको तलमाथि नै हो गर्ने। होइन नाई भन्दा सबैले टाउको यताउता नै हल्लाउने हो।

मानिसहरु पहिला सानो समूहमा बस्थे र सांकेतिक भाषाका माध्यमबाट काम चलाउँथे तर जब बृहत रुपमा मानिस जोडिनुपर्ने भयो तब भाषाको आवश्यकता पर्न थाल्यो र शब्दको जुन आवाज हुन्छ त्यो आवाजबाट शब्द तयार पारे।  
चराचुरुङ्गीका केही शब्द जस्तो कोहिलीको कुहुकुहुबाट सुरु गरे र यसरी नै भाषाको विकास भयो। विकासपछि पनि विभाजित हुँदै भनिनथाल्यो कि आठ किलोमीटर टाढा हुँदा मात्रै पनि भाषामा परिवर्तन हुन्छ। 

यसरी विभाजन पछि भिन्न–भिन्न भाषाहरु हुनथाले। अब हामीहरुकै कुरा लिउँ। जति प्रदेश बने जसले राज गर्दथे उनीहरुले चाहेको भाषाको संरक्षण गर्न थाले। भाषाको संरक्षण राजकिय रुपमा नगर्दासम्म संरक्षण हुँदैन रहेछ। मुलभुत रूपमा भाषा भरुपेली भाषाको आधारमा बने। ४० वर्ष अगाडिको कुरा हो। 

त्यतिखेर बीबीसीको कार्यक्रम आउथ्यो म त्यो सुन्दै थिए। बीबीसी भन्दै थियो कि आजभोलि दैनिक रुपमा लेख्य भाषा नभएर कथ्य भाषाहरु मर्दैछन्। यो कुरा सुनीसकेपछि मेरो हृदयले झकझकायो, त्यसो भए त मेरो भाषा पनि मर्छ भनेर।

म र मेरो श्रीमती एउटै प्रदेशका एउटै क्षेत्रका र एउटै भाषाभाषी हौं। तुरुन्तै मैले मेरो कापी कलम उठाए उनलाई पनि बोलाए। उनलाई पनि भने र अब भाषा संरक्षणका लागि लागौं भने। त्यहीनिर लेख्न सुरु गर्यौँ। सामान्य शब्दहरु दाल भात तरकारी आदि यताउता लेख्यौ तर शब्दहरु लेखिसकेपछि शब्दको मुलभुत अन्तर्य आउन पनि मुस्किल छ। र, कसैलाई भनीदेउ भन्न पनि मुस्किल छ। सबैभन्दा कठिन त्यहाँनिर छ।

यसको लागि पनि मैले कस्तो अभियान चालाए भने कुनै बेला पनि कापी कलम आफूभन्दा पृथक गर्दैन। कुनै शब्द सुतेको बेला आयो भने पनि त्यसलाई लेखीहाले। सरकारी सेवामा  थिए भ्रमणमा जानु पथ्र्यो। त्यहाँ पनि कर्मचारीहरुलाई मेरो भाषामा यो भनिन्छ तिमीहरुको भाषामा के भनिन्छ नेपाली करण के हुन्छ भनेर सोधपुछ गर्थे र लेखी हाल्थे। 

यसरी लेख्दै गए। कयौं कापी कयौं कलम सकिए। अहिले हेर्ने गर्छु लगभग १५ हजार कलम जति सुरक्षीत राखेको छु। त्यतिखेर मैले स्थानीय विकासको सुदूरपश्चिम डाइरेक्टर मागे किनकि डाइरेक्टर भयो भने त मेरो ९ वटा जिल्लाकै कर्मचारीहरुसँग सम्बन्ध रहने भयो। भाषामा नै काम गर्न सक्ने भएपछि जहाँ–जहाँ म बैठक बोलाउथे त्यहाँ कर्मचारीहरुलाई भित्रीरुपमा निर्देशन दिने गर्थे कि आफ्नै भाषामा प्रश्न गर्नु। 

आफ्नै भाषामा प्रश्न गर्दा जवाफ दिँदा म ती शब्दहरु सुनेर टिपोट गर्थे। यसरी ९ जिल्लाकै शब्दहरु पुगेर संकलन गरे र काठमाडौ‌ फर्किएर पनि सेती महाकालीमा बस्नेहरुको खोजी गर्न थाले। अनि प्रकाशित साहित्यिक कृतिहरुको पनि खोज गरे र तिनका शब्द पनि उतारे। यसो गर्दा गर्दै २० वर्षको अवधि कटिसकेको थियो र मसँग ४० हजार शब्दहरु टिपोट भइसकेका थिए।

यी शब्द संकलन मात्रै न भई यिनको व्याख्या पनि गरे र उत्पत्ति कसरी भयो भनेर पनि लेखे। उदाहरणसहित डोटेली उखानटुक्का पनि उल्लेख गरे। त्यहाँ साहित्यिक कुरा जस्तैः खप्तड आयो, शैलेश्वरी आयो अर्थात कुनै पनि क्षेत्रको मन्दिर आयो भने त्यसको पनि इतिहासकता उल्लेख गरे। 

यसरी लेख्दै गर्दा सबै क्षेत्र समेट्दै गएपछि एउटा अन्त्यमा ठूलो संकट देखा पर्न गयो। संकट के पर्यो भने डोटेली भाषाको त शब्दकोश थिएन तब अल्फाबेटीकल्ली कसरी मिलाउने त ? मेरा एक जना पहिलाका विद्यार्थी थिए उहाँलाई बोलाए। ल यो मिलाउन कसरी सकिन्छ सहयोग गर्नुपर्यो तपाईले भनेपछि उनले पनि केही समय प्रयास त गरे तर म थाके, मेरो दिमागमा नै आउन्न भनेर उहाँले पनि भने।

फेरि कोही छ कि भनेर उहाँलाई सोधे उहाँले भन्नूभयो कि नेपाली अंग्रेजीका पाइन्छन् तर डोटेलीका पाइन्न। मैले पनि खोज्ने प्रयास गरे भेटाउन सकिन। पछि आफैले तपस्या गर्नुपर्ने हो सोचेर एउटा बन्द कोठाभित्र एकलै बसेर मिलाउन थाले, लेख्न थाले।

७ महिना जति बन्दी जस्तो भएर बस्दा कयौं निम्तोहरु आए कयौं भेट्नेहरु आए तर म न निम्तोमा गए न कसैलाई भेटे। अनि मात्रै मिलाउन सके। मिलासकेपछि अब यसलाई कसरी के गर्ने भने सोचिरहेको थिए। त्यहीँ बेला म बिरामी भए बिरामी भएपछि डाक्टरलाई जाँच गराउँदा त डाक्टरले पेनक्रिजको क्यान्सर भएको छ भनेर संकटमा हालीदियो।  

त्यतिबेला मेरो आँखामा अरु केही आएन मात्रै शब्दकोश आयो। म मर्न लागे मेरो शब्दकोश अब के हुने हो भन्ने मात्रै लाग्यो। डाक्टरले एक हप्ताभित्र अप्रेसन गर्नुभएन भने तपाइको जिवनमा खतरा छ भनेर भने। छोरा पनि मेरो डाक्टर हो। तर उ अमेरिका थियो राति नै छोरालाई यो जानकारी डाक्टरले गराएछ। भोलि म नेपाल आउँछु बुवा भनेर बिहानै मलाई छोराले फोन गरेर भनेपछि म ज्यादै भावुक भए।  

मेरो अन्त्य हो कि पनि लाग्यो मैले सबै ‘क’ देखि ‘ज्ञ’ सम्मका मिलाएर एउटा पुलिन्दामा बाधे र छोरी आरतीलाई पत्र लेखे। मेरो अरु कुनै इच्छा छैन मैले यी सबै मिलाएर राखेको छु। कुनै नेपालीको विद्वान, कुनै डोटेलीको विद्वानलाई बोलाएर जे जति खर्च हुन्छ यसलाई छापीदिनु भने। अरु कसैलाई यो कुरा भनेको थिएन मात्रै पत्र छोडेको थिए।

दोस्रो दिन छोरा पुग्यो। उतै उपचारका लागि जाने भनेर टिकट खोज्यो तर डाक्टरले ७ दिनको समय दिएकोले टिकट पनि छिटो नै चाहिएको थियो तर भेटिएन। तर अब के गर्ने त भन्दा त्यतिखेर ग्रिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँलाई प्रस्ताव राखे। पछि दुई टिकट पायौं। श्रीमतीले पनि जाने इच्छा गर्नुभएको थियो तर पाइएनन्।

सबैकुरा ठिकठाक भएर केही समय पछि म अमेरिकामा उपचार गरेर नेपाल फर्किए। नेपाल पुगेर छोरालाई फोन गरेर सोधे छोरा मेरो शब्दकोशमा मैले कामगर्दा हुन्छ कि भनेर। अनि छोराले सक्ने भए बिस्तारै गर्दा हुन्छ भन्यो। उसले भनिसकेपछि मैले ४ महिना त्यसमा फेरि काम गरे। त्यसपछि छाप्ने स्थितिमा आयो।  

त्यति बेला अन्तर्राष्ट्रिय भाषा गोष्ठी प्रज्ञा प्रतिष्ठानमा भएको थियो। मलाई पनि त्यहाँ निम्ता आएको थियो। त्यहाँ त्यो सबै पुलिन्दा बोक्न लाएर आफु उपस्थित भए। मैले यो मिहिनेत गरेर लेखेकु छु तर छाप्न सक्दिन, छापिदिनुपर्यो भन्दै अनुरोध गरे। अमेरिका युरोपबाट मानिस आएका थिए उनीहरु छक्क थिए र सोधे कि यो एक जनाको रिपोर्ट हो ? एकलैले बनाएको हो ? अनि मैले र मेरो श्रीमती मिलेर शब्द संकलन गरेका हौं भनेर भने।

 पछि त्यहीँ कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति लगायत सबै रहेको हुनाले ती व्यक्तिहरुले सार्वजनिक रुपमा नै हामी यति पैसा पठाउँछौ तपाईंहरुलाई कहाँ हाल्नुहुन्छ ? भाषाका लागि उहाँले यत्रो मिहिनेत गर्नुभएको छ। अचम्म लाग्दो काम गर्नुभएको छ भनेर भन्नुभयो। 

विभिन्न सरकारी गैरसरकारी संघ संस्थाहरुमा पाण्डुलिपी लिएर पुगे केहिले २/३ वर्ष लाग्ने भन्नभयो केहिले आर्थिक सहयोग गर्छौ तर छाप्न सकिँदैन लामो समय लाग्छ भन्नुभयो। प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलाई भने यो छापी दिनुस्। उहाँले भन्नुभयो कहिले छाप्न सकिन्छ म भन्न सक्दिन समय लाग्छ पाण्डुलिपी छोड्नुस र धेरैको गुनासो आउँछ पाण्डुलिपी हराएको भनेर यसको लागि म जिम्मेवार हुन सक्दिन। 

उहाँले यस्तो भनी सकेपछि हजुर यस्तो त अरु संस्थाहरुले पनि भनेका छन् तर यति मिहेनेत खेर कसरी जान दिउ। पछि उहाँले हामी १० हजार दिन्छु तपाईं आफै छाप्नुस शुभकामना छ भन्नुभयो। 

मागजोग गरेर मैले केही पैसा जम्मा गरे र प्रकाशनले पनि २५ प्रतिशत छुटमा छापी दिन्छु भनेपछि पुस्तक छापिएको थियो। संयोग नै भन्नुपर्छ केही समयमा नै एउटा अन्तर्राष्ट्रिय स्तरको भाषा सम्बन्धीको गोष्ठी हुने भयो। मलाई त्यति खेर डा. माधव पोखरेलले फोन गरेर अन्तर्राष्ट्रिय भाषा गोष्ठी हुँदैछ तपाईको डोटेली भाषामा केही भन्नु छ कि भनेर सोध्नुभयो। 

त्यहाँ पनि मैले संकलन गरेका डोटेली पत्रपत्रिका सबै बटुलेर साथमा डोटेली शब्दकोशको पुलिन्दा बाधेर कार्यक्रममा गए र त्यहाँ डा. माधव पोखरेले सुझाव दिए अनुसार अन्तर्राष्ट्रिय भाषाको सूचीमा राखिदिन प्रस्ताव राखे। 

डोटेली भाषा यतिको प्राचीन छ यसको साहित्य छ आदि इत्यादि सबै कुरा राखेको थिए। आइएसओ प्राप्त गर्नुपर्छ भनेर राखिएको प्रस्तावमा त्यहाँ छलफल भयो। प्रभास चटौतले राख्नुभएको प्रसारमा तपाईहरुको बिचार के छ ? भनेर प्रश्न गरियो। 

मेरो त्यो मिहेनेत देखेको हुँदा त्यहाँ कसैले मुखै अगाडि केही बिरोध गर्ने अवस्था त थिएन। फेरि त्यहाँ माधव पोखरेलले बलपुग्ने हिसाबले कुरा राख्नुभयो। 

देश विदेशबाट आएकाहरुले अझ यसमा थप अरु अध्ययन गर्छौ। हामी ६ महिनापछि आउँछौ भनेर जानुभयो।  त्यसपछि उताबाट आफ्ना प्रतिनिधि पठाए र ९ वटै जिल्लाहरुमा अध्ययन अनुसन्धान र सर्वेक्षण  गर्नुभयो र रिपोर्ट पेश गरिसकेपछि फेरि बैठक बस्यो।

बैठकमा सबैलाई सुझाव राख्न र सहमति दिने न दिने विषयमा सोधिएको थियो। कसैले पनि असहमति न जनाएपछि त्यो हस्ताक्षर सहितको सबै डकुमेन्ट बेलायत पठाइयो।  बेलायतबाट प्रतिनिधिहरुको फोन आयो बधाई छ तपाइँको डोटेली भाषाले आइएसओ प्राप्त गरेको छ भने। 

यसरी नै डोटेली भाषामा काम गरेर सफलता मिल्यो। अनि डोटेली भाषा अन्तर्राष्ट्रियकरण भयो।

कमेन्ट लोड गर्नुस