डोको बुनेरै घरखर्च चलाईरहेका बैतडीका अमररामको संघर्ष, भन्छन् ‘स्वदेशमै केही गरौँ’
बैतडीः बिहानैदेखि ५/६ डोका र ५/६ सुप्पो बोकेर दिनभरी टाढा टाढाको गाउँ पुग्छन् बैतडीका अमरराम विक। जिल्लाको दरथचन्द नगरपालिका -७ का विक विगत २० वर्षदेखि डोको सुप्पो बुनेरै घर खर्च चलाउँदै आएरहेका छन्।उनको ८ जनाको परिवार छ। उनले रोजगारीका लागि भन्दै ५/६ वर्ष भारतमा पनि बिताए तर भनेजस्तो कमाइ नपाएपछि उनी घर फर्के र पुख्र्यौलीबाट गरिंदै आएको सो डोका, सुप्पो लगायतका काम सिक्न थाले।
उनले भने, “५/६ महिना भारतमा बिताए, तर भने जस्तो कमाई भएन। बाबाले निङ्गलाको काम गर्थे। भारतबाट फर्केर म पनि उनीसंगै सिक्न थाले र बेच्न पनि गाउँघरतिर जान थाले। १ डोको र सुप्पो बुनेर तयार गर्न दुई दिन लाग्छ।” उनले एक महिनामा कम्तिमा ३०/३५ डोको सुप्पो अर्थात् अन्न राख्ने निगालोको टोकरी (स्थानीय भाषामा छापरो अर्थात छाप्रो) बुन्ने गरेको बताए। “आफ्नो खेत छैन बाहीरबाट निगालो, बाँस किनेर बुन्छुँ उनले भने।”
एकदिनमा ५/६ वटा सामाग्री बिक्रि हुनेगरेको उनले बताए। एक महिनामा बुनेका सो सामग्री बेच्न उनलाई उत्तिक्कै समय चाहिन्छ। आफुले बुनेका सामग्री बिक्रि गर्न उनी छिमेकी गाउँ तथा टाढा टाढा २/३ दिन हिँड्नुपर्ने गाउँसम्मै पुग्छन्।
आफुले मेहनत गरे अनुसारको आम्दानी भने नहुने तर घर खर्च भने चलिरहने उनको भनाई छ। एक महिनामा कम्तीमा १०/१२ हजार मात्रै आम्दानी हुने उनी बताउँछन्। आफ्नो ८ जनाको परिवार रहेको बताउँदै उनले भने, “यतिले परिवारको खर्च धान्न धौधौ पर्छ, तैपनि धानिरहेकै छुँ।”
तर उनले आफ्नै देशमा काम गर्न सके राम्रो हुने समेत बताए। रोजगारीको लागि बाह्य देश जानु भन्दा आफ्नै देशमा सानोतिनो भएपनि केही काम गरे सहज हुने र देश विकासमा टेवा पुग्ने उनको भनाइ छ।
“जे गरे पनि आफ्नो गाउँमा त सुख दुखमा साथ दिने आफन्त हुन्छन् नी। २/४ दिन काम नगर्दा पनि भयो। तर बाहिर त धेरै गाह्रो हुन्छ। बिरामी भएनी गर्नै पर्ने। न आफन्त, न मालिकले पिडा बुझने। तै पनि समयमा अर्थात समस्या पर्या बेला पैँसा नदिने। गाउँघरमा समस्या परे छिमेकीले त सहयोग गर्छन् नी” उनले आफ्नो विगत सुनाउँदै भने।
तर यस्ता काम विस्तारै लोप हुँदै गएकोप्रति भने उनले चिन्ता समेत व्यक्त गरे। उनले भने, “अबको नयाँ पुस्ताले यस्ता काम हेर्दैनन, टेर्दैनन्, पुर्खौँ देखि गरि आएका अर्थात चलिआएको यो परम्परा हराउनेहो की भन्ने चिन्ता छ।” यी काम जोगाई राख्न अर्थात सो कामतिर नयाँ युवाहरुलाई अकर्षित गर्न अहिलेको तीनै तहको सरकारले पनि पहल गरिदिनुपर्ने उनको माग छ।
बाँस तथा निगालो खेतिका लागि अनुदानका कार्यक्रम ल्याउन जरुरी रहेको समेत उनको भनाइ छ। अनुदानका नाममा सरकारले भ्रष्टाचार गरेको अर्थात् जो लक्षित वर्ग हो,उसलाई छनोट नगरी आफन्त र आसेपासेलाई मात्रै कार्यक्रममा राख्ने गरेको समेत उनको गुनासो छ।